काठमाडौं। नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई गरिएको पक्राउप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ – ‘नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ । सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार हो । संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले सयम–सयममा कुण्ठित गर्ने कार्य गर्दै आइरहेको छ । राज्यका सबै अंग र प्रत्येक नेपालीले संविधानको पूर्ण पालना गरी यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तर यसको ठिक विपरित वर्तमान सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको छ । सरकारको यस किसिमका गैरजिम्मेवारी कार्य प्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछौं ।‘
पूर्वसचिव उपाध्यायलाई प्रहरीले बुधबार राति आफ्नै निवास ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उपाध्यायलाई पक्राउ गरेको थियो।
‘पूर्व सचिवको पक्राउ संविधानको मर्म भावना विपरित रहेकोले निजलाई विनासर्त तत्काल रिहा गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं । साथै, आमनागरिकको स्वतन्त्र विचार र अभिव्यक्तिहरुलाई दबाउने कार्यलाई रोक्न सरकारलाई चेतावनी दिन चाहन्छौं।‘ कांग्रेस सांसद एवं संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।