सरकार संविधानको भावना विरुद्ध गएको भन्दै नेविसंघ देशव्यापी विरोध प्रदर्शनमा
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
968
Shares
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकार देश र जनताका पक्षमा अत्यन्तै संवेदनशील हुनुपर्ने वर्र्तमान सन्दर्भमा लोकतन्त्रको मुल्य, मान्यता र मर्म विपरीत, संविधानको भावना विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको खिलापको गतिबिधिमा लिप्त भएको भकन्दै नेविसंघले शुक्रबार (बैशाख १२ गते) देशव्यापी विरोध गर्ने जनाएको हो ।
नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार बिहान ९ बजे देशव्यापी सांकेतिक प्रदर्शन गर्न र गराउन सम्पूर्ण नेविसंघका नेता तथा कार्यकर्तालाई अनुरोधसहितको सूचना जारी गरेका छन् ।
संवैधानिक परिषद र दल विभाजन सम्वन्धि अध्यादेश सर्वसत्तावादको पछिल्लो कडीको रूपमा आएको भन्दै नेविसंघले यसको जतिसुकै कडा भर्त्सना गरेपनि प्रयाप्त नहुने स्पष्ट पारेको छ ।
‘यस्ता रबैया मार्फत सरकार आफैँ संघर्षको निम्ति हामीलाई बाध्य बनाउँदै छ’ भन्दै महामन्त्री तिमल्सिनाले जारी गरेको सूचनामा ‘उपर्युक्त अध्यादेशका विरुद्ध दवाव श्रृजना गर्न सामाजिक दूरी कायम राख्दै, स्वास्थ्य सावधानी तथा सचेतना अपनाउँदै, भीडभाड नगरी भोलि बैशाख १२ गते बिहान ९ः०० बजे सांकेतिक प्रदर्शन गर्न र गराउन सम्पूर्ण नेविसंघका साथीहरूलाई हार्दिक अनुरोध गरिन्छ’ भनिएको छ ।