arrow

शुक्रराज र गणेशमानलाई प्रारम्भ र आनीले दिए पीपीइ

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
94387680_670102197098946_62.jpg

काठमाडौँ । संसारभर प्रभाव पारिरहेको कोरोना भाइरस (कोभिड–१९ ) ले विश्वको जनजीवन प्रभावित भनेको छ । नेपालमा निकै सुस्त गतिमा देखिएको यसको प्रभाव यसै हप्ताबाट ह्वात्तै बढेको छ। 

मुलुक लकडाउनमा छ । स्वास्थ्य सामग्रीको अभाव छ र यसको व्यवस्थापनका लागि सरकार र गैर सरकारी निकायहरु  सक्रिय भएर लागेका छन् । 

यहि सक्रियताका साथ प्रारम्भ सामाजिक संस्था र गायिका आनी छोयिंग डोल्माले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि २५ थान पीपीइ सेट उपलब्ध गराएका छन् । 

प्रारम्भ अध्यक्ष कल्पना क्षेत्री तथा आनी छोयिंग डोल्मा फाउन्डेशनकी अध्यक्ष समेत रहेकी गायिका डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले शुक्रराज ट्रपिकलका निर्देशक डा सागर राजभण्डारीलाई बिहिबार उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

बिहिबार नै उनीहरुले ललितपुरस्थित गणेशमान सिंह अस्पतालका लागि १० थान पीपीइ सेट सहयोग गरेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताएका छन् । 

गणेशमान सिंह अस्पताल ललितपुर महानगरपालिकाले आइसोलेशन तथा क्वारेन्टाइनका लागि छनौट गरेको अस्पताल हो। विभिन्न स्थानीय तह र अस्पतालहरु संगको समन्वयमा सहयोग गरिरहेको प्रारम्भले उपलब्ध गराएका सामग्रीमा पीपीइ ड्रेस, एन ९५ मास्क, ग्लब्स, गमबुट, फेसशिल्ड, सर्जिकल मास्क तथा ह्यान्ड सेनिटाइजर छन् । 

प्रारम्भले हालसम्म शुक्रराज ट्रपिकल तथा गणेशमान सिंह अस्पतालका अलावा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, बनेपा अस्पताल, पाटन अस्पताल तथा शिर मेमोरियल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।
 
प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाका अनुसार संस्थाले पहिलो चरण राजधानी र आसपासका अस्पतालमा सामग्री उपलब्ध गराउँदै दोश्रो चरणमा आनी छोयिंग डोल्मा फ़ाउण्डेशन संगको सहकार्यमा परोपकारी कार्य गरिरहेको हो । 

दुई संस्थाको संयोजन पछि दैलेख जिल्लाका सबै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको र आफुले सकेको मद्दत गर्न फिल्डमा आएको गायिका आनी छोइङ्ले बताइन् ।  

उनले भनिन्,‘रोगको महामारी र असहज परिस्थितिमा यातिबेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मि र संचारकर्मीप्रति आफु धेरै गम्भीर भएको र उहाँहरुको सुरक्षाको निम्ति थोरै भएपनि सारथी बन्न सकूँ, हाम्रो उद्धेश्य यत्ति हो ।’

प्रारम्भको प्रारम्भिक क्रियाकलापबाट प्रभावित उनले संस्थागत सहकार्य गरेर कल्याणकारी कार्य गर्न पाउदा आफुलाई मनमा आनन्द लागेको उनको कथन छ। 

चरणबद्ध कार्यक्रममा अग्रसर यी दुइ संस्थाले तेश्रो चरणमा विभिन्न जिल्लामा आवश्यकता हेरेर स्वास्थ्य सामग्री पठाउने तयारी गरिरहेको प्रारम्भ संस्थाकी अध्यक्ष कल्पना  क्षेत्री बताउँछिन् ।

उनी सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि समेत हुन् । प्रारम्भ सिंगापुर रेडक्रससंग आबद्द गैरसरकारी संस्था हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ