कांग्रेसले भन्यो - अध्यादेश फिर्ता भएपनि अपराधलाई उन्मुक्ति दिन मिल्दैन
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
920
Shares
काठमाडौं । नेपाली कांग्रेसले अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ईमानदार कानूनी कार्वाहीका लागि अपील गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
प्रवक्ता शर्माले शुक्रबार एक विज्ञप्ति जारी गरि अध्यादेश फिर्ता भएपनि प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने बताएका हुन्।
प्रवक्ता शर्माद्वारा विज्ञप्तिमा भनिएको छ ,' चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ ।'
'अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ' विज्ञप्तिमा उल्लेख छ ।