arrow

सांसद सुरेन्द्र यादव 'अपहरण ' प्रकरणमा प्रधानमन्त्री ओलीले प्रकट गरे अनविज्ञता

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सोधेका थिए , ‘सांसद अपहरणमा तपाईको संलग्नता के हो?’

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
kp-oli-sher-deuba.gif

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोमा बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद अपहरणको विषयमा सञ्चारमाध्यममा आएको समाचारबारे सत्य तथ्य बाहिर स्पष्ट पार्न माग गरेका छन्। सांसद डा सुरेन्द्र यादव 'अपहरण' प्रसङगमा नेकपाकै सांसद महेश बस्नेत र किसान श्रेष्ठ एवं पूर्व आइजीपी सर्वेन्द्र खनालसँगै प्रधानमन्त्रीको समेत नाम जोडिएको बिषय गम्भिर भएकोले यस बारेमा प्रष्ट पार्न माग गरेका हुन्। 

विवादास्पद राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन संशोधन अध्यादेशलाई लिएर चौतर्फी विरोध र आलोचना भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिने निर्णय लगत्तै प्रधानमन्त्री ओलीको निम्तोमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी दलका नेता देउवाले अपहरणमा संलग्नहरुलाई कार्वाहीको माग पनि गरे।

दुई नेताहरुबीच भएको झण्डै एक घण्टा लामो वार्ताका क्रममा देउवाले कुनै दल फुटाउनका लागि सरकारकै नेतृत्व र सत्तापक्षकै सांसददेखि पूर्व आइजीपी समेतको संलग्नता भएको विषयले नेपालको राजनीतिक व्यवस्थासँगै, दल र दलका नेताप्रति समाजमा नकरात्मक प्रभाव परेको भन्दै यसबारे सत्य तथ्य के हो तत्काल प्रष्ट पार्न माग गरेका थिए।

गत बुधबार साँझ काठमाडौंबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित नेकपा सांसद तथा नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले समाजवादी पार्टीका सांसद यादवलाई करकापमा पारेर राजधानीको एक होटलमा ल्याएर राखेका थिए। जहाँ समाजवादी पार्टी विभाजनको योजना अनुसार दस्तावेज तयारी र सांसदको हस्ताक्षर भइरहेका चाल पाएपछि उनी बिहिबार त्यहाँबाट उम्किएको दाबी स्वयं सांसद यादवले गरेका छन्।

देउवाले यसबारे छानविन र सत्य तथ्य माग गरेपछि जवाफमा प्रधानमन्त्री ओलीले यसबारे आफूलाई जानकारी नभएको बताउँदै सत्य तथ्य बुझेर जानकारी दिने आश्वासन दिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले अपहरणको विषयमा अनविज्ञता प्रकट गरे। आफ्नो नाममा कसैले बदमासी गरेको भए कार्वाही गर्ने उनले बताए। 

महोत्तरीबाट काठमाडौं ल्याउने क्रममा स्वयं प्रधानमन्त्री ओलीले सांसद किसान श्रेष्ठको फोनमा तत्कालिन समाजवादीका सांसद सांसद डा सुरेन्द्र यादवसँग कुरा गरेका थिए। जुन कुरालाई यादवले यसअघी नै बताएका छन्। तर प्रधानमन्त्रीले सो घटनाको बारेमा अनविज्ञता प्रकट गरेर सबैलाई आश्चर्यमा पारेका छन्।  

शुक्रबार अपरान्ह बालुवाटारमा पुगेका पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीसँग सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याएर मुलुकमा राजनीतिक द्वन्द्ध र अविश्वासको वातावरण श्रृजना गरेपनि अन्ततः अध्यादेश फिर्ता लिएर त्रुटि सच्याएकोमा खुशी व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले बताए।

भेटमा देउवाले अहिले सिंगो विश्वभर नै कोरोना भाइरसको महामारीले आक्रान्त भएको बेला नेपालमा पनि चिकित्सकहरुका लागि आवश्यक पीपीई, परिक्षण किट लगायतका स्वास्थ्य सामाग्रीको अभाव हुन नदिई परिक्षण कार्यलाई त्रिब्रता दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

यसका अतिरिक्त देउवाले देशभरीका जनता लकडाउनको अवस्थामा दैनिक उपभोग्य सामाग्रीको अभावमा पिल्सिएको र उनीहरुमध्ये कतिपय हिँडेर गाउँ जाँदा पनि बाटोमा समस्यामा परिरहेको बताउँदै तत्काल सरकारले जनतालाई राहत, सुविधासँगै जनताको जीवन रक्षार्थ काम गर्न माग गरेका थिए।

साथै देउवाले नेपाल र भारतको सीमा नाकामा आएर अलपत्र अवस्थामा बसेका नेपालीहरु जो २१ दिन भन्दा बढी लामो समय त्यहि क्वारेन्टिनमा बसिसकेर कोरोनाको कुनै संक्रमण नदेखिएपछि पनि सीमा नाकामै रोकिइरहेका छन् उनीहरुलाई आफ्नो देश र घर जान कहिलेसम्म सरकारले व्यवस्था गर्छ भनि प्रश्न गरेका थिए।

विभिन्न देशमा रहेका नेपाली नागरिकहरुको जीवन रक्षाका लागि सरकारले आवश्यक कुटनीतिक पहल गर्न ढिलाई गर्न नहुने सुझाव पनि देउवाले दिएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले जनतालाई राहत उपलब्ध गराउने जिम्मेवारी स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत काम भइरहेको र त्यसमा कहिँ कतै कमिकमजोरी भए सच्याएर अघि बढ्ने आश्वासन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ