- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ ।
नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए ।
कतिपय विद्यार्थी काठमाडौंबाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आइनसकेका कारण लकडाउनको मारमा परेका थिए । एक महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए ।
राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीहरूलाई सबैभन्दा नजिकको मुकाम ढाका (बंगलादेश) पुऱ्याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुऱ्याएको चौधरीले बताए ।
राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए ।
चौधरी फाउन्डेसनकालागि कोरोना परीक्षणका लागि चीनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए ।