ओलीको उधारो कुरा पत्याएनन नेपालले, सम्झाए पटक पटकको अपमान
नेपालले स्थायी समिति वैठक बोलाउने न्यूनतम शर्त सुनाएर पठाए ज्ञवालीलाई
प्रकाशित २०७७ वैशाख १४ आइतबार
941
Shares
काठमाडौं। दुई अध्यादेशको ल्याएको हलचल नेकपामा रोकिने छाँट देखिएको छैन। सबैतिरबाट घेरावन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना महारथीहरुलाई काठमाडौं मैदानमा उतारेका छन्। प्रदेश ५का मुख्यमन्त्री काठमाडौंमा आएका छन् भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ओलीको दुत बनेर माधव नेपाललाई फकाउन गएका छन्। तर नेपाल मान्ने सुरमा रत्तिभर देखिएका छैनन स्रोतले दावी गरेको छ।
नेपाल निवासमा बसेको नेकपा नेताहरुको बैठकले तत्काल स्थायी समितिको बैठक बोलाउने बिषयमा सम्झौता नगर्न माधव नेपाललाई दवाव दियो। शनिबार साँझ नेपाल निवासमा भएको बैठकले स्थायी समिति बैठक बोलाउने कुरामा सम्झौता नगर्न सुझाव दिएपछि नेपालले पनि आइतबारै दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग पनि छलफल गरेका थिए।
करिब २ घन्टा चलेको छलफलमा सहभागी स्थायी कमिटीका नेताहरुले तत्काल सचिवालय बैठक बसेर स्थायी कमिटी बोलाउनुपर्ने निष्कर्ष निकालेका थिए। स्थायी कमिटी बैठक ओलीले टार्दै गए अर्का अध्यक्षले बैठक बोलाउँदा हुन सक्ने संभावित राजनीतिक घटनाक्रमबारेमा समेत छलफल भएको वैठकमा सहभागी एक नेताले बताए।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल निकटका २० स्थायी कमिटी सदस्यहरुले बैठक माग गरेका थिए। ४४ सदस्यीय स्थायी कमिटीमा नेपाल तथा प्रचण्डनिकटका ३४ सदस्य छन्। अहिले नेकपामा ओली समूह स्थायी कमिटी बैठक टार्दै आएको छ भने प्रचण्ड र नेपाल समूह बैठक राख्नुपर्ने माग राख्दै आएको छ।
नेपाल निवासमा ओलीका दुत बनेर आएका ज्ञवालीलाई नेपालले आफूले पटकपटक अपमान सहेर पनि पार्टी हितका लागि काम गर्दा गर्दै पनि अध्यक्षले राम्रो व्यवहार नगरेको बताएका थिए। उनले उधारोमा कुरा गरेर पटक पटक धोखा दिएको सुनाउँदै अब विशवासकोव वातावरण कम भएको बताएको स्रोतको दावी छ। उनले वैठकमा सहभागीहरुको सुझाव सुनाउँदै भने, ‘अब उधारोमा हैन नगदमा कारोवार गर्नुपर्छ। कम्तिमा सचिवालयको वैठक बोलाई स्थायी समिति वैठक बोलाउन अध्यक्षज्यूलाई तपाइहरु पनि सम्झाउनुस।‘