arrow

५ जना जन्ती लगेर भित्र्याए सिटौलाले बुहारी, बिहेकोलागि छुट्याएको ५ लाख दिए कोरोना राहत कोषलाई

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
krishna-sitaula-shyam-sitau.gif

झापा। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले अक्षय तृतियाको दिन बुहारी भित्र्याएका छन्। ३ महिना अघी वैशाख १४का लागि तय भएको दिनमै छोराको विवाह गरेपनि उनको छोराको विवाहको बारेमा जीउँदाको जन्ती मर्दाको मलामीका रुपमा रहेका छिमेकीले पनि थाहा पाएनन। 

कोरोना कहरकै बीचमा छोरा श्याम सिटौलाको विवाह गर्नुपर्ने वाध्यता आइपरेपछि उनले स्थानिय एक पसलबाट बुहारीको लागि एक जोर लुगाको सेट किनेर ल्याउन लगाएका थिए। लकडाउनकै बीचमा बन्द रहेको पसल खुलाएर विवाहको विधीका लागि सामान किनेको छोरा श्यामले बताए। 
 
झापाकी मनिषा विमलीसँग विवाह बन्धनमा वाधिएका श्यामले लकडाउनको विवाह अनुभव सुनाए। सयौंको विवाहमा सहभागी भएका उनी कतिको विवाहमा जन्ती समेत गएका थिए। तर लकडाउनमा विवाह गरेका उनले भने कसैलाई जन्ती बोलाएनन। न भोज नै गरे। सामाजिक दुरीलाई ध्यान दिएर विवाह गरेको उनको भनाई थियो।  

बाबा, काका र काकाकी छोरी, चालक र बाबाको अंगरक्षक गरि जम्मा ५ जना जन्ती गएर विवाह गरेर आएको सुनाउँदै उनले भने, ‘गएका सबैले सेनिटाइजरको प्रयोग गरेका थिए, मास्क समेत लगाएका थिए।‘ शसुरालीतर्फ भने १५ जना विवाहमा सहभागी भएको सिटौलाले बताए।

तीन महिना अघी विहेको कुरा छिनेका सिटौला र विमली परिवारले अक्षय तृतियाको दिनमा विवाह गर्ने निर्णय गरेका थिए। तर लकडाउनले विवाहमा जमघट हुने अवस्था नभएपनि दुवै परिवारले साइत चाहि छोड्न चाहेनन्। 

‘स्थिति सहज भएको भए विवाह गरेको भोलिपल्ट घरमा भोज गर्ने चलन हुन्थ्यो’, श्यामले भने, ‘तर यो पटक स्थिति सहज छैन। त्यसैले विवाह भोजका लागि छुट्याएको खर्च स्थानिय सरकारको कोरोना राहत कोषमा दिने निर्णय हाम्रो परिवारले गरेको छ।‘ 

विवाहको भोलिपल्ट सिटौला परिवारले भद्रपुर नगरपालिका, कचनकवल, हल्दिवारी र बाह्रदशी गाउँपालिकालाई १ लाखका दरले र आफू घर रहेको भद्रपुरको १० नम्वर वडा र आफ्नो खेती किसानी रहेको विर्तामोडको १० नम्वर वडालाई ५० हजारका दरले जम्मा ५ लाख रकम स्थानिय सरकारको कोरोना राहत कोषमा दिने जानकारी गराएको छ। आफू बसेको वडामा भने श्याम आफैले लगेर रकम हस्तान्तरण गरेका छन्। 

कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्दा धेरैको विवाह, वर्तवन्ध लगायतका भेला भएर हुने कार्यक्रम रोकिएका छन्। कतिपयले यसैगरि सिटौला परिवारको जस्तै केहि आफन्तको बीचमा सम्पन्न पनि गर्दै आइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ