arrow

कोरोना : 'अब खतरा बढ्यो, बाहिरबाट ह्वारह्वारती आउन थाले'

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona-virus-awareness.jpg

जुम्ला । ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उनी नियमितरूपमा व्यायाम गर्दै आएका छन् । खेलाडीलाई पनि व्यायाम गराउँदै आएका छन्। रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै आएका हुन्।  

अब भने प्रशिक्षक रोकायालाई कोरोना भाइरस सङ्क्रमणको खतरा आभास हुन थालेको छ । उनी भन्छन्, “अब खतरा बढ्यो, बाहिरबाट मान्छे गाउँमा ह्वारह्वारती आउन थाले ।” बाहिरबाट नयाँ मान्छे कोही नआउँदासम्म गाउँमा कोरोना भाइरस भित्रिन नसक्ने रोकायाको बुझाइ छ । एक सातायता जिल्लाभर बाहिरबाट सर्वसाधारण आउने क्रम ह्वात्तै बढेको उनले बताए । “अहिलेसम्म त सुरक्षित नै थियौँ, अब खतरा बढ्यो”, जुम्लाको खङ्गाबाट रोकायाले फोनमा भने । देशका विभिन्न ठाउँ तथा भारतबाट घर फर्कनेको सङ्ख्या बढेकामा उनी चिन्तित छन् । अहिलेसम्म ढुक्कसित व्यायाम गर्दै आएकामा अब भने यसबारे उनीलाई सोच्न बाध्य बनाएको छ । 

गाउँमा बाहिरबाट सोझै नयाँ व्यक्तिलाई आउन दिन नहुने ओलम्पियन रोकायाको धारणा छ । यसरी नयाँ व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिने उनीको बुझाइ छ । “गाउँमा ढुक्कसित बसेकालाई समस्या भयो, अहिलेसम्म राम्रैसित दिन बितेका थिए, अब भन्न सकिन्न”, उनले भने । भारतबाट घर फर्कनेलाई सीमामै क्वारेन्टाइनमा राख्नुपर्ने रोकाया बिताउछन् । सीमामा आएर अलपत्र परेकालाई नेपाल भित्र्याउनु पर्ने तर क्वारेन्टाइनमा राखी अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उनले जोड दिए। सीमाको क्वारेन्टाइन सकिएपछि गाउँमा यत्रतत्र जानबाट रोक्नुपर्ने उनीको सुझाव छ ।  

अहिले काठमाडौँ तथा देशका अन्य ठाउँबाट सर्वसाधारण धमाधम घर फर्कन लागेका छन् । गाउँपालिका र नगरपालिकाका प्रतिनिधिबीच होडबाजी नै चलेको छ । यसरी घर फर्केकाहरु गाउँको क्वारेन्टाइनमा बस्न मानेका छैनन् । उनीहरु घुमघाममा ब्यस्त छन् । ओलम्पियन रोकाया यसलाई अबको खतराको सूचक मान्नुहुन्छ । “सरकारले घोषणा गरेको लकडाउनको सबैले पालना गर्नुपर्छ”, उनले भने । गाउँमा नयाँ मान्छे आए नआएको रोकायाले आफ्ना खेलाडीबाट जानकारी लिन बिर्सनु हुन्न । “नयाँ व्यक्ति आए क्वारेन्टाइनमा अनिवार्य राख्न लगाउन खेलाडीलाई भन्दै आएको छु”, रोकायाले भने । खेलाडीलाई सकभर घरमै व्यायाम गर्नका लागि उनीको सल्लाह रहने गरेको छ । “घरमा बस्दा बस्दा दिक्क भयो भन्दै बिहान केही बेर खुला ठाउँमा व्यायाम गर्न आउने गरेका छन्”, उनले भने, “पहिला जस्तो अभ्यास गरेका छैनौँ, खेलका लागि तयारी अवस्थामा राख्न व्यायाममा जोड दिएका छौँ ।” 

रोकाया वर्षभरि प्रशिक्षणमै व्यस्त रहने प्रशिक्षक हुन् । उनी कहिल्यै त्यत्तिक्कै बस्दनन्। हत्तपत्त जुम्ला छाड्दैनन् । छोडी हाले पनि आफ्नो नियमित व्यायाम भने गरिरहन्छन्। खेलाडी सधैँ उनीको सम्पर्कमा रहन्छन् । लकडाउनपछि भने रोकायाको दिनचर्या अलिक फेरिएको छ । बिहानको बाहेक अन्य समय उनी खेतबारीमै बिताउछन् । “दिनमा कोही पनि सकभर सुत्न हुन्न”, रोकाया भन्छन्, “करेसाबारीमा काम गरेर भए पनि आफुलाई फुर्तिलो बनाउनु पर्छ ।” केही समय घरछेउमै सञ्चालन गरिएको मिलका लागि खर्चिन्छन्। कर्णाली स्पोर्ट्स क्लबका सदस्यहरुले मिलेर उक्त मिल सञ्चाल गरेका हुन् । त्यहाँ सातु र धान कुटानी पिसानी गरिन्छ । “यो काम पनि दूरी कायम गर्दै आएका छौँ”, रोकायाले भने । यसबाट सङ्कलन भएको रकम खेलाडीका लागि खर्च गरिन्छ । क्लबको आफ्नै चार कोठे भवन छ । जहाँ खेलाडीलाई बस्ने खाने व्यवस्था गरिएको छ । अहिले लकडाउनका कारण रोकायाले यहाँ बस्दै आएकालाई घर पठाएका छन्। 

कीर्तिमानी धावक रोकायाले सन् १९८८ मा दक्षिण कोरियाको सोल र सन् १९९२ मा स्पेनको बार्सिलोनामा सम्पन्न ओलम्पिकमा नेपालबाट भाग लिएका थिए। उनी २०५२ सालदेखि भने जुम्लामा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् । लकडाउनअघि उनले सात वर्षदेखि २२ वर्ष उमेरका झण्डै ४५ खेलाडीलाई अभ्यास गराउँदै आएका थिए। हाल श्रीमतीका साथ बस्दै आएका उनीका जेठो छोरो यज्ञबहादुर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक छन् भने कान्छो छोरो हिक्मतबहादुर श्री एयरलाइन्समा पाइलट छन् । “घरमा लकडाउनको पूर्ण पालन गरेको छु, कोही पनि नयाँ व्यक्ति घरमा आउजाउ गर्न दिएको छैन”, रोकायाले भने । लकडाउनको पालना गरे कोरोना भाइरसको महामारीबाट जोगिन सकिनेमा उनी विश्वस्त छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ