arrow

आरडीटी विश्वसनीय नभएपछि सिटौलाले गरे कोरोनाको पिसीआर परिक्षणको माग

झापाको चकचकीमा दुईपटक आरडीटी गर्दा नेगेटिभ भेटिएका पीसीआरमा भेटिए कोरोना पोजेटीभ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
krishna-sitaula.JPG

झापा। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोरोना परिक्षणमा प्रयोग भएका आरडीटी परिक्षण कीटको विश्वसनीयतामाथि गम्भिर प्रश्न उठाउँदै पीसीआर परिक्षणको माग गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बाह्रदशी गाउँपालिका–४ चकचकीमा आरडीटी परिक्षणमा नेगेटीभ आएका ५० वर्षीय एक पुरुषमा सो परिक्षण गरेको केहि हप्तापछि कोरोना संक्रमण देखिएपछि सिटौलाले सो परिक्षणमा गम्भिर प्रश्न उठाउँदै पीसीआर परिक्षणको माग गरेका हुन्। 

गत फागुन अन्तिममा नयाँ दिल्लीको निजामुद्धिन मर्कसको जमातबाट फर्किएका ती व्यक्तिले दुईपटक आरडीटी गर्दा पनि नेगेटिभ देखिएको थियो। राजनीतिक कार्यकर्ता समेत रहेका उनले आरडीटीमा नेगेटीभ आएपछि राहत वितरण लगायतका कार्यक्रममा सहभागी भएका थिए।

तर आइतबार मात्र उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि अहिले आरडीटीको विश्वसनियतामाथि मात्रै प्रश्न उठेको छैन जनस्वास्थ्यमा पनि गम्भीर चिन्ता पैदा भएको सिटौलाले बताए। 

‘दुई पटक पनि नेगेटिभ देखिएपछि उनी औषधी किन्न, सागसब्जी किन्न बजार गए होलान। अब उनको कन्ट्याक्ट ट्रेसिङ गरेर सबैको परिक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। चकचकीमा एउटा गाउँ नै आतंकित भएको छ’, सिटौलाले प्रसासनसँग माग गर्दै भने, ‘गाउँ नै सिल गरेर त्यहाँका जनताको पिसीआर टेस्ट गरियोस्।’ 

उनले त्यहाँ मुस्लिम र मधेसी समुदायको बाक्लो बस्ती भएकाले सरकार गम्भीर भएर जाँच जर्नुपर्ने धारणा राखे। यो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सामग्री ल्याएर काम गर्न सिटौलाले सरकारसँग विशेष माग गरेका हुन्।

देशका सबै जिल्लामा परीक्षण भइरहेको आरडिटी किटको रिर्पोट गलत भएको विभिन्न आधारले पुष्टि गरेको उनले बताए। गृहजिल्ला झापामा रहेका सिटौलाले आरडिटी किटका बारेमा सरकारले पुनर्विचार गरेर पीसीआर ल्याउन माग गरे। 

सरकारले अहिले गरिरहेको आरडीटी परिक्षण पुरै असफल भएको सिटौलाले बताए। उनले प्रारम्भिक तहबाटै पीसीआर परिक्षण अनिवार्य गर्न सरकारसँग माग गरे। 

सिटौलाले प्रसासनको ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारीले प्रहरी र सेना राखेर गाउँका सबैको स्वाब परिक्षण गर्ने तयारी गरेको जनाएका छन्। 

देशका विभिन्न भागबाट आरडीटी कीटको बारेमा गुनासो आएपछि कांग्रेसले पनि यस बारेमा औपचारिक रुपमै सरकारको ध्यानाकर्षण गराईसकेको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वक्तव्य निकाल्दै आरडीटी कीट भन्दा पनि पीसीआरबाट परिक्षण गर्न माग गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ