काठमाडौं। जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव तथा खानेपानी मन्त्रालयका सल्लाहकार समितिका सदस्य भीम उपाध्यायलाई धरौटीमा रिहा गरेको छ ।
विद्युतीय कारोबार सम्बन्धी मुद्दाको थुनछेक आदेशमा काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न भनेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठ जानकारी दिए।
श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्वास्थ्य सचिवकव उजुरीमा गृह मन्त्रालयको निर्देशनानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमार्फत सरकार तथा स्वास्थ्य मन्त्रालयका सचिवविरुद्ध अफवाह फैलाएको र जातिय द्वेष फैलाउने विषयहरु सामाजिक सञ्जालमार्फत शेयर गरेको अभियोगमा उनलाई लगाइएको थियो ।
प्रहरीको अनुसन्धानपछि आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गर्दै १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको थियो।