arrow

कोरोना रोक्न नेपाललाई सघाउने चीनको आश्वासनः राष्ट्रपति भण्डारी र सीबीच वार्ता

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
vidya-xi_(2)1.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड –१९) विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । 

उनीहरुबीच सोमबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र  नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरे । उनले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा  पनि सराहना गरे ।

 प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए । 

चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्किएकामा खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना गरेको  मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई टेलिफोन संवादका लागि धन्यवाद दिँदै  कोरोना भाइरस महामारीका समय र कोरोनाबाट निधन भएकाहरुको श्रद्धाञ्जलिका लागि आयोजित राष्ट्रिय शोकसभामा चिनियाँ सरकार र जनताप्रति व्यक्त गरेको ऐक्यबद्धता र समर्थनका लागि सराहना गरे ।

दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ । 

दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा पनि सहमत भएका छन् । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको  पनि स्मरण गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ