युवा नेताहरुको दवावपछि बस्दै कांग्रेस केन्द्रीय समिति बैठक
प्रकाशित २०७७ वैशाख १७ बुधबार
469
Shares
काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुको दवावमा बुधबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । ११ केन्द्रीय सदस्यहरुको माग तथा सुझाव अनुसार बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय बिपीनगर बस्न लागेको कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले बताए ।
गत बैशाख १० गते कांग्रेसका ११ जना युवा नेताले संयुक्त वक्तव्य जारी गर्दै सरकारले दु्ई वटा विवादास्पद अध्यादेश जारी गरेपछि तत्काल काँग्रेसको बैठक बोलाउन माग गरेका थिए ।
केन्द्रीय सदस्यहरु भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाइले जारी गरेको वक्तव्यमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउन वर्तमान अवस्थामा पार्टीभित्र वृहत् छलफल आवश्यक भएको उल्लेख गरिएको थियो ।
सरकारले जारी गरेका अध्यादेश गत शुक्रबार नै फिर्ता लिए पनि थप रणनीति, सांसद अपहरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता लगायतका विषयमा गम्भीर छलफल हुने बताइएको छ ।
त्यसैगरी बैठकमा कोरोना भाइरस संक्रमण रोक्न सरकारले लगाएको लकडाउनलाई व्यवहारिक बनाउन पनि सरकारलाई झक्झक्याउन सक्ने बुझिएको छ ।
साथै सम्भव भएसम्म आगामी फागुनका लागि तय गरिएको पार्टीको महाधिवेशन निर्धारित समयमा गर्न सकिन्छ की सकिँदैन भन्ने बारेमा पनि बैठकमा छलफल गर्न सकिने बताइएको छ ।
बैठक सामाजिक दूरी कायम राखी बस्न लागेको पनि बताइएको छ ।