arrow

कोरोना परीक्षण उपकरण आइपुग्यो, किट आएपछि प्रयोगमा 

logo
मानदत्त रावल,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
corona-jumla.jpg

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर उपकरण (मेसिन) आइपुगेको छ । उपकरण आएर जडानसमेत भइसकेको छ तर आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । किट ल्याएर प्रयोगमा ल्याउने तयारी गरिएको छ । अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था नरहेको बताउनुभयो । पिसिआर उपकरण जुम्ला पुग्यो । जडान कार्य पनि सम्पन्न भयो । आवश्यक जनशक्ति तयारी अवस्थामा छन् । चिकित्सक रावलले भन्नुभयो, “आवश्यक पर्ने किट नहुँदा प्रयोगमा आउन सकेको छैन । जसकारण उपकरण प्रयोगविहीन छ ।”

कोरोना परीक्षण किट सरकारसंँग माग गरिएको छ । आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, उहाँले भन्नुभयो, “किट आउनेबित्तिकै परीक्षण कार्य सञ्चालन हुनेछ । त्योे बिना सम्भव भएन । अस्पताल निर्देशक चिकित्सक रावलका अनुसार पहिले पिसिआर उपकरण (मेसिन) सरकारसँग माग गरिएको थियो । सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा टेण्डर आह्वान गरेर चीनदेखि पिसिआर उपकरण जुम्ला ल्याएको हो । 

किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन । सरकारले ल्याउन सक्ने भएकाले ५०० सम्म किट माग गरिएको छ । तत्काल दुई÷तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । यो उपकरणले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ । अहिले दुईजना ल्याबका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर उपकरणबाट चलाउन सिकिरहेका छन् । किट आउनेबित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु हुने अस्पतालले जनाएको छ ।

“अहिले जुम्लामा मान्छे भित्रिने क्रम बढिरहेको छ । यो बेला अस्पतालमा राम्रो तयारी थियो तर किटले रोक्यो,” चिकित्सक रावलले भन्नुभयो, “किट पुग्नेबित्तिकै कोरोना परीक्षण उपकरण सञ्चालन हुन्छ ।” आगामी आइतबार सोमबारदेखि पिसिआर उपकरण सञ्चालनमा आउनेछ । तीन सय ३९ जनाको स्वाब परीक्षण र १६२ जनाको ¥यापिट टेष्ट गरी कोरोना परीक्षण गरिएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । 

विसं २०७६ चैत १० देखि जुम्लामा आठ हजार ९४७ जना नागरिक भित्रिएका छन् भने ७१५ क्वारेन्टाइन श्ययामा ५७६ जना छन् । क्वारेन्टाइनबाट १४ दिनपछि ४११ जना व्यक्ति घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । चार सय ९५ जना होम क्वारेन्टाइनमा बसेका छन् । १३६ जना स्वास्थ्यकर्मी जिल्लाभर परिचालन भएका छन् । लकडाउन उल्लङ्घन गर्ने बुधबारसम्म ६०८ सवारी साधन प्रहरीको कारवाहीमा परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ