ओलीले यसरी हेपे वामदेवलाई, छैनन कम्प्रोमाइजको मुडमा
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
525
Shares
काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधवारको सचिवालय वैठकमा वामदेव गौतमले ‘सपनामा पनि नसोचेको’ प्रस्ताव गरे।
वर्दियाबाट सांसद हारेपनि पार्टी अत्यधिक वहुमतका साथ सरकारमा पुगेपछि पटकपटक संसदमा पुग्ने प्रयास गरेका गौतम धेरैपटक रोकिए।
राष्ट्रिय सभामा पनि पुग्ने उनको चाहना पार्टीभित्रको राजनीतिक माखेसाङलोमा अड्कियो। राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरि संविधान संसोधन हुने कुरा संसदको यो कार्यकालमा लगभग टुंगो लाग्यो।
दुई तिहाई नजिक भएपनि संविधान संसोधन गर्न नेकपासँग आवश्यक दुई तिहाई वहुमत छैन। दुई तिहाई पुर्याउने नेकपाको प्रयास दुई अध्यादेश एम्बुसमा परेसँगै हाललाई असफल भएको छ।
यो अवस्थामा राष्ट्रिय सभाबाट सांसद भइ प्रधानमन्त्री हुने गौतमको चाहना नै थियो भने पनि त्यो पूरा हुने छाँट छैन।
तर सचिवालयको वैठकमा ओलीले यो प्रस्ताव राख्दा गौतम खुसी मात्र नभई ‘सपनामा पनि नसोचेको’ प्रस्ताव आएको भन्दै दंग परे।
तर के उनको यो खुसी दीगो होकी तत्कालको खुसीको लागि मात्र हो।
नेकपाकै नेता देव गुरुङले तुरुन्तै प्रतिक्रिया दिए वामदेवजी प्रधानमन्त्री हुनेगरि संविधान संसोधन हुन सम्भव छैन।
नेकपाका एक जना स्थायि समिति सदस्यले भने प्रधानमन्त्रीको पासा फालेर अध्यक्ष ओलीले गौतमलाई अल्मल्याएको मात्र हो।
के त्यसो भए कोरोना संकटको अन्त्य पछि ओलीले कसरी गौतमलाई पद हस्तान्तरण गर्छन त ?
नेकपाका ति नेता भन्छन कहाँबाट पद हस्तान्तरण गर्नुनी ओलीले? गौतमको प्रधानमन्त्री हुने लालसामा टेकेर ओलीले उनलाई हेपेका हुन्। नत्र सांसद नै नभएको मान्छेलाई कसरी प्रधानमन्त्रीको ललिपप दिनसक्छन।
गौतमलाई सांसद बन्नका लागि केहि सांसदले आफ्नो पदबाट राजिनामा दिएर उनलाई सो क्षेत्रबाट उमेद्वार हुन बाटो खालि गरिदिने प्रयास गरेका थिए। तर त्यसका बिरुद्ध जनमत नकारात्मक भएपछि ओलीले नै त्यसमा ब्रेक लगाईदिए। माहौल नकारातम्क बनाउन ओली निकटहरुको भूमिका पनि त्यसमा उल्लेख्य थियो।
सांसद नै नभएको मान्छे ६ महिनालाई मन्त्री बन्न सक्छ। तर त्यसभित्र सांसद बन्न सकेन भने उ पदबाट वाहिरिन सक्छ। प्रधानमन्त्रीको हकमा त्यो व्यवस्था पनि छैन।
कोरोना संकटबाट पार पाउने बित्तिकै कुनै सांसदलाई राजिनामा गर्न लगाएर गौतमलाई मैदानमै खडा गरे भनेपनि उनलाई लाग्ने पदलोलुपको ट्यागले उनी माथि उठ्नै नसक्ने गरि भासिन पुग्छन्। त्यो अवस्थामा उनकव बिरुद्ध सारा शक्ति एक भएर हराउन लाग्न सक्छन्। यो अवस्थामा गौतम फेरि एकपटक प्रधानमन्त्री बन्ने सपना सपनामै सजाएर बस्नेछन्।
यो कुरा गौतमलाई थाहा छैन होला त? नेकपाका ति नेताले भने, ‘गौतमलाई किन थाहा नहुनु। कहिलेकाँही पदको मोहले आँखा अगाडीकै कुरा पनि देखिदैन। बेलाबेलामा गौतम कामरेडलाई पनि यस्तै हुन्छ।‘
‘सचिवालयको वैठकमा खासमा ओलीले गौतमलाई नराम्ररी हेपेका हुन्,’ ती नेताले भने, ‘उनको महत्वाकांक्षालाई बुझेका ओलीले त्यसैमा खेलेर तत्कालका संकटलाई टार्न खोजेका मात्र हुन्। नत उनले गौतमलाई संसदको यो कार्यकालमा सांसद हुन दिन्छन न त प्रधानमन्त्री नै।‘
दुई अध्यादेश ल्याएर फिर्ता लिन वाध्य भएका ओलीले पदमा टिकिरहन पनि नैतिक रुपमा गाह्रो मान्नु पर्ने बेलामा अनेक प्रपञ्च गरिरहेको अनुभव गर्छन नेकपाका ती नेता।
विषय र मुद्धा एकातिर छ अनि तर तपसिलका मुद्धामा ध्यान भड्काएर ओली पदमा टिकिरहने प्रपञ्च गरिरहेको बुझाई धेरै नेकपाका नेताहरुमा पनि छ। सरकारले गरेको भ्रष्टाचार अनियमितताको फेहरिस्त छ। तर तिनलाई कतिपय अवस्थामा थाहा नपाइ झै र कतिपय अवस्थामा डिफेन्स नै गर्दै आएका छन् ओलीले।
आफू बिरुद्धको आवाज उठ्नै नदिने र उठिहाले पनि व्यवस्थापन गर्दै आएका ओली यो पटक अलि बढी नै दवावमा रहको जस्तो देखिएको छ। यद्यपी यो दवावलाई पनि टार्न उनले भागवण्डाको खेल शुरु गरिसकेका छन्।
दुई अध्यक्ष सहित पार्टी चलिइरहेकोमा ओलीले बुधवार तेस्रो अध्यक्षका रुपमा माधव नेपाललाई प्रस्ताव गरे। गौतमलाई गरेको प्रधानमन्त्रीको प्रस्तावको बारेमा चर्चा माथि गरिसकेका छौ। नेपाललाई अध्यक्षको प्रस्ताव गर्दै गर्दा उनले आफ्ना दुतहरुमार्फत मंसिरमै अर्ली महाधिवेशन गरेर नेपाललाई नै भावी अध्यक्षको प्रस्ताव पनि गरेका छन्।
सत्तामा हुँदा बाडन धेरै पाइन्छ। सरकार पार्टी दुबै ठाउँमा बाड्न मिल्ने भूमिकामा रहेका ओलीले सबैलाई केहि न केहि दिएर र आश्वासन बाँडेर अहिलेको संकटबाट उम्किन खोजेको मान्छन नेकपाका नेताहरु। संसदमै नभएको मान्छेलाई प्रधानमन्त्री बनाउँछु भन्ने आश्वासन यहि मेसोमा आएको हो।
नेकपाका ति नेता भन्छन, ‘प्रधानमन्त्री पार्टीभित्र सम्झौता गर्ने मुडमा देखिनुहुन्न। सम्झौता गर्ने मुडमा भएको भए म छोड्छु तिमि होउ भन्नुहुन्थ्यो तर उहाँले म छोड्छु होइन तिमि पनि हौ भनेर अध्यक्षको पद बाड्नु भएको छ।‘