श्रमिकको सुरक्षा एवं अधिकार सुनिश्चित गर्न कांग्रेसको माग
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
731
Shares
काठमाडौं । नेपाली कांग्रेसले श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न सरकारसंग माग गरेको छ । १३१ औं श्रमिक दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाँईले श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम विश्वका श्रमिकहरुको गौरवपुर्ण इतिहास बोकेको १३१औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरु प्रति हार्दिक सम्मान एवं शुभेच्छा प्रकट गर्न चाहन्छु । यस पटकको मे दिवस अत्यन्त जटिल परिस्थितीमा सम्पन्न हुँदैछ । विश्वका सम्पुर्ण श्रमजीवी एंव आम नागरिक विश्वव्यापी कोरोना महामारीबाट आक्रान्त भई रहेका छन् र लाखौं श्रमिक र जनता संक्रमणको शिकार बनेका छन् भने लाखौं जनता र श्रमजीवी मृत्युवरण गर्न बाध्य भएका छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको संक्रमणबाट मृत्युवरण गरेका श्रमिक तथा आमनागरिक प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत सबैको शिघ्र स्वास्थ लाभको कामना गर्दछु । कोरोनाको महामारीबाट नेपाल लगायत विश्वका श्रमिकहरुले रोजगारी गुमेको, खोसिएको र बेरोजगार भई आश्रित परिवारको समेत भाग्य र भविष्य अन्धकार बन्न पुगेको दर्दनाक अवस्था छ ।’
अगाडि भनिएको छ, ‘यस विषम परिस्थितीमा श्रमजीवीहरुको जीवन र जनजीविकामा पार्ने असरलाई न्यूनीकरण गर्दै श्रमिकको स्वास्थ सुरक्षा रोजगारीको संरक्षण, आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, आप्रवासी श्रमिकको सुरक्षा एवं सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न समृद्ध मुलुकका सरकार एवं नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्त्यमा यस कोरोना महामारी विरुद्ध लड्न र कोभीड १९ लाई परास्त गर्न सम्पुर्ण राजनीतिक दल, श्रमिक संगठन र आम नेपाली दिदीबहिनी दाजुभाई एकतावद्द हुन यस विभागकोतर्फबाट हार्दिक अपील गर्दछु ।’