कसरी मनाउँदैछ ट्रेड युनियन कांग्रेसले श्रमिक दिवस ? (विज्ञप्तिसहित)
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
500
Shares
काठमाडौं । शुक्रबार १३१ औं श्रमिक दिवस । यो दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
ट्रेड युनियन कांग्रेस अध्यक्ष पुष्कर आचार्य र ट्रेड युनियन महासचिव योगेन्द्र कुँवरले जारी गरेको ऐक्यवद्धता सन्देशमा तोकिएका कार्यक्रममा सहभागी हुन पनि अपिल गरिएको छ ।
बिहान ११ बजे सबै संरचनाहरुबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान ११ बजे एकसाथ श्रमिकका मुद्धाहरु समावेश ज्ञापनपत्र इमेलमार्फत पठाउने तथा बेलुकी ७ बजे सबै मातहतबाट कोभिड १९ बाट दिवंगत भएकाप्रति श्रद्धाञ्जली तथा उपचारार्थ शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गर्न अपिल गरिएको छ ।
कांग्रेसले सम्पूर्ण श्रमिकलाई शुभकामनासमेत दिएको छ ।
यस्तो छ श्रमिकका नाममा जारी प्रेस विज्ञप्ति– श्रमिकको स्वास्थ्य, सुरक्षा र रोजगारीको सुनिश्चितता ।
महामारी र बेरोजगारी बिरुद्धको संघर्षमा ऐक्यबद्धता ।।
श्रमिक नेता तथा पूर्व प्रधानमन्त्री श्रद्धेय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विसं २००३ फागुण २१ गते स्थापित नेपाल ट्रेड यूनियन काँग्रेस नेपाली श्रमिकहरुको वर्गीय हक हितको संरक्षण एवं मुलुकमा लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासका निम्ति निरन्तर क्रियाशील रहदै आएको सर्वविदितै छ । मुलुकको श्रम बजारमा सक्रिय सवै प्रकृतिका (सेवा क्षेत्र, उत्पादन क्षेत्र, अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्र) श्रमिकहरुको छाता संगठनकोरुपमा क्रियाशील यस महासंघ आवद्ध २८ वटा राष्ट्रिय संघहरुका करिब पाँच लाख सदस्यहरुको तर्फबाट एकता र संघर्षको गौरवपूर्ण इतिहास बोकेको १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा रही कोभिड–१९ को माहामारीमा संघर्षरत सम्पूर्ण श्रमजीवी साथीहरुमा सुरक्षित जीवन र जीविकाका लागि शुभकामना व्यक्त गर्दछ ।
कोरोना भाईरस (कोभिड–१९) को विश्वव्यापी महामारीले सिङ्गो मानव जातिलाई आतङ्कित बनाएको छ । हालको महामारीको प्रभाव मानवीय क्षतिमा मात्र सिमित छैन । यसले आगामी दिनमा आर्थिक र सामाजिकरुपमा पनि ठूलो क्षति पुर्याउँदै छ । यस अघिका कुनै पनि द्धन्द, प्राकृतिक प्रकोप भन्दा पनि यो महामारीबाट श्रमजीविहरु अझ बढी पिडित भएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले वर्तमान महामारीको कारण विश्व श्रम बजारवाट १ अरव ६० करोड श्रमिकहरुले रोजगारी गुमाउने, अनौपचारिक क्षेत्रका श्रमीकहरुमा वेरोजगारी बढ्ने र सामाजिक सुरक्षाबाट वञ्चित हुने, असमानताका खाडलहरु अझ गहिरिएर जाने, आयमा हुने कमीका कारण श्रमिकको दैनिक जीविकोपार्जनमा गम्भीर समस्या उत्पन्न हुन सक्ने अनुमान गरेको छ । यी उल्लेखित समस्याहरुको प्रभावबाट सबैभन्दा बढी हाम्रा जस्ता विकासन्मुख मुलुकहरु गुज्रिरहेका छन् ।
कोभिड —१९ को प्रकोपलाई नियन्त्रण र रोकथाम गर्ने उद्धेश्यका साथ गत २०७६ चैत्र ११ गते देखि शुरु भएको देशव्यापी लकडाउन अनिश्चित हुँदै गएको छ । लकडाउनका कारण नेपालको कृषि तथा कृषिजन्य उद्योग, होटेल व्यवसाय तथा पर्यटन उद्योग, निर्माण, यातायात, वैकिंग तथा वैदशिक रोजगार क्षेत्र समेत नराम्ररी प्रभावित भएका छन । नेपाल भित्रिने रेमिट्यान्स ह्वात्तै घटि सकेको छ, आप्रवासी श्रमिकहरु वेरोजगार हुँदैछन, होटेल तथा पर्यटन व्यवसाय धरासायी हुदैछ, अनौपचारिक क्षेत्रका श्रमिक कामविहिन हुँदा उनीहरुको दैनिकी अझ कष्टकर बन्दैछ । लकडाउन लम्विदै जाँदा संगठित क्षेत्रका श्रमिक समेत तलव सुविधा नपाउने देखि रोजगारीको असुरक्षा जस्ता समस्यावाट पिडित हुन थालेका छन । लकडाउनको कारण कार्यस्थलमा रहेका श्रमिकहरुको खाने बस्ने यथोचित व्यवस्था नहुँदा बाध्यतावश घर जान हिंडेका अनौपचारिक श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ जाने कुनैपनि व्यवस्था नभएको कारण श्रमिकहरुले गम्भीर यातना भोग्नु परेको छ । यस्तो कष्ठकर अवस्थामा महासंघले मातहतका सम्पूर्ण संरचना मार्फत सके जति खाने बस्ने लगायतका उद्धार कार्यहरु गर्न सफल भएको छ । यस कार्यमा सहयोग गर्ने ट्रेड युनियन र अन्य संघ संस्थाहरुमा महासंघ आभार व्यक्त गर्दछ ।
महामारीवाट सिर्जित समस्याहरुको समाधान एवं नागरिकको स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय सहमतिको वातावरण बनाएर अहोरात्र खटनु पर्ने सरकार वेमौषमी बाजा जस्तै यो राष्ट्रिय महासंकटको घडीमा सुकुम्बासी आयोग गठन गरेर हजारौ कार्यकर्ता भर्ती गर्ने, भ्रष्ट्राचारजन्य क्रियाकलापलाई संरक्षण दिने, लकडाउनको अवज्ञा गर्न जुलुस निकाल्ने कार्यलाई प्रतिरोध नगरी अझ प्रोत्साहान गर्ने, सार्वभौम संसदलाई छलेर राजनैतिक अस्थिरतालाई प्रोत्साहान हुनेगरी राजनितीक दल सम्बन्धि अध्यादेश र संविधानको मर्म विपरित प्रतिपक्षको भूमिकालाई निस्तेज गर्ने गरी संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउने जस्ता क्रियाकलापले हालको विषम परिस्थितीप्रति सरकार गम्भीर नरहेको प्रष्ट हुन्छ । महामारीको रोकथाम तथा नियन्त्रण र यसको दुरगामी प्रभाव न्यूनिकरणको लागि राष्ट्रिय सहमतीको वातावरण बनाई युद्धस्तरमा काम गर्नुपर्ने बेलामा सरकार गुटगत आन्तरिक द्वन्द्वमा अल्झिएको आम श्रमिकले महसुश गरेका छन । रेमिटयान्स मार्फत मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउने आप्रवासी श्रमिकको विषयमा सरकार वेखवर जस्तै छ, महामारी र लकडाउनको चपेटामा परेका श्रमिकले राज्यको उपस्थितिको अनुभूति गर्न पाएका छैन्न र अहिलेको संकटपूर्ण घडीमा राज्य सवै सरोकारवालाहरुसंग जति सहकार्य गरी अघि बढन सक्नु पर्दथ्यो त्यो हुन सकेको छैन ।
तसर्थ, १३१ औ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा कोभिड—१९ को महामारीले श्रमजीविहरुमा परेका समस्याहरुको समाधानार्थ यस महासंघले “कोरोना महामारी विरुद्धको लडाईमा एक हौं, श्रमिकहरुको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गरौं”क् भन्ने यस वर्षको मे दिवसको नारालाई नै लक्षित गरेर निकट भविष्यमा सरकारवाट प्रस्तुत हुने नीति तथा कार्यक्रम एवं आगामी वजेटलाई समेत दृष्टिगत गरी सम्माननीय प्रधानमन्त्री एवं सरोकारवाला निकाय समक्ष मातहतका सबै संरचनामार्फत ज्ञापनपत्र प्रस्तुत गर्दैछ । साथै यस महामारीको प्रकोपबाट मृत्युवरण गर्ने श्रमजीवि तथा आम नागरिकहरुको स्मरणमा श्रद्धाञ्जली र उपचाररत संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्न बेलुका ७ बजे दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा उत्साहका साथ सहभागी हुन सम्पूर्ण संरचना र सम्बद्ध पदाधिकारीहरुलाई अनुरोध गर्दछु । महासंघबाट प्रस्तुत ज्ञापन पत्रमा उठाईएका देहाएका सुझावहरुलाई सरकार र सरोकारवाला निकायहरुले गम्भिरताका साथ लिनेछन र कार्यान्वयन तर्फ उन्मूख हुनेछन भन्ने पूर्ण विश्वासका साथ सम्पूर्ण स्वेदेश तथा विदेशमा रहेका श्रमजीविहरुको तर्फवाट हार्दिक अपील गर्दछौं ।
सुझावहरुः
कोरोना भाइरस संगको संघर्षको अग्रमोर्चामा खटिएका स्वास्थ्य कर्मी लगायतका अन्य श्रमिकहरु, अत्यावस्यक सेवा र सुरक्षामा खटिने श्रमिकहरुलाई डब्लुएचओ को मापदण्ड अनुसारको गुणस्तरिय पीपीई लगायत स्वास्थ्य सुरक्षा उपकरणका साथै विमा लगायत अन्य प्रोत्साहन सुविधाको व्यवस्था गरियोस ।
अत्यावस्यक सेवा र वस्तुको उत्पादन सम्वन्धि उद्योग व्यवसाय संचालन गर्दा डब्लुएचओ को मापदण्ड अनुसार श्रमिकको स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित्ता गरेर मात्र संचालनमा ल्याईयोस ।
निश्चित समयावधिका लागि उद्योग प्रतिष्ठानहरुको कर्जाको पुर्नतालिकीकरण तथा व्याज, करमा सहुलियत लगायत राहतका प्याकेज ल्याइयोस् ।
साना, मध्यमखालका, मभmौला घरेलु उद्योगहरु, कृषि तथा कृृषिजन्य उद्योगको विकास र विस्तार गरी नयाँ रोजगारीको सिर्जना गर्न एवं स्वास्थ्य क्षेत्रका लागि लगानी गर्न विशेष कार्यक्रम ल्याइयोस् ।
मौद्रिक नीति मार्फत कर्जाको व्याजदर कम गर्ने लगायत उद्योग, व्यवसाय प्रवद्र्धनका लागि नीतिगत व्यवस्थामा लचकता अपनाइयोस् ।
कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकर लगायत अन्य कर र कर्जाको व्याजमा सहुलियत दिने व्यवस्था गरियोस् ।
शिप, व्यावसायिक तालिम दिने संस्थाहरुको कार्यक्रमलाई एकद्वार प्रणाली अन्तरगत संचालन एवं दक्ष जनशक्ति निर्माण गर्न विशेष कार्यक्रम संचालन गरियोस् ।
ट्रेड यूनियन र व्यावसायिक संघ, संगठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रर्वद्धन वोर्डको स्थापना गरियोस् ।
कृषि तथा कृषि जन्य उद्योगको व्यावसायिकरण र पूर्वाधारका ठूला आयोजना संचालन गरी नयाँ रोजगारी सिर्जना गर्ने नीति अवलम्वन गरियोस् ।
स्थानिय स्रोत साधन र शिपको अधिक्त्तम प्रयोग गरी रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्न समुदायमा आधारित सहकारी संस्थाहरु र श्रम संगठनहरुको क्षमता विकासका लागि वजेट विनियोजन गरियोस्।
स्थानियतहमा श्रमिकको पंजिकरण गरी राशन कार्ड उपलव्ध गराउने र सोहि राशन कार्डका आधारमा अनौपचारिक क्षेत्रका श्रमिकलाई राहत उपलव्ध गराउने व्यवस्था गरियोस् ।
वेरोजगार श्रमिकहरुलाई प्रधान मन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम ज्याला सरह वेरोजगार भत्ता उपलव्ध गराईयोस् ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सवै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरियोस् ।
सामाजिक संवादको माध्यमवाट श्रमिक समस्या सम्वोधन गर्न अनिवार्यरुपमा प्रदेश तथा स्थानियतहमा त्रीपक्षीय श्रम सल्लाहकार समिति गठन गरी क्रियाशिल गराईयोस् ।
हालको कोभिड १९ महामारीलाई लक्षित गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारदाता संघ र ट्रेड यूनियनहरुको समेत प्रतिनिधित्व हुने गरी त्रीपक्षीय उच्च स्तरीय समिति गठन गरियोस् ।
कोभीड १९ को महामारीका कारण रोजगारी गुमाएका, खान वस्न नपाएका तथा विरामी परेका आप्रवासी नेपाली श्रमिकहरुको गन्तव्य मुलुकको दूतावास वा कुटनीतिक नियोग मार्फत उद्धार गरियोस् ।
गन्तव्य मुलुकमा रहेका आप्रवाशी श्रमिकहरुको रोजगारी कटौती हुन नदिन आवश्यक पहल गर्न दूतावास वा कुटनीतिक निकायलाई निर्देशित गरियोस् ।
वैदेशिक रोजगारीवाट फर्किआएका नेपाली श्रमिकहरुको अनुभव, शिप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशीलताको विकास गर्न आवश्यक नीतिगत व्यवस्था गरियोस् ।
बैंक वित्तीय संस्थावाट कर्जा लिई वैदेशिक रोजगारीमा गएका र हालको महामारीका कारण गन्तव्य मुलुकमा रोजगारी गुमाई स्वदेश फर्किएका श्रमिकहरुको कर्जा तथा व्याज मिनाहाका लागि आवस्यक राहत प्याकेजको घोषणा गरियोस् ।
रोजगारी गुमाएका वा स्वदेश फर्कन चाहने आप्रवाशी नेपाली श्रमिकहरुलाई सुरक्षित तवरले क्वारेन्टाईनमा राख्ने गरी स्वदेश फर्कनका लागि आवश्यक व्यवस्था मिलाइयोस् । धन्यबाद । जय नेपाल ।