arrow

कोरोना महामारी: बुद्धजयन्ती पूजापाठमै सीमित हुने

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७७ वैशाख २० शनिबार
buddha-nath.jpg

काठमाडौं। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ ।

कोभिड१९को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध चैत्यमा सीमित लामामात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने निर्णय बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले गरेको काठमाडौँ महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले  जानकारी दिए ।

विगतका वर्षमा बौद्धबाट जोरपाटीतीनचुलेरामहिटीमहाँकालचुच्चेपाटीचाबहिल हुँदै पुनः बौद्धसम्म भगवान् बुद्धको अस्थिधातुसहित शोभासमेत गरिन्थ्यो ।  यस वर्ष शोभायात्रा, प्रवचनलगायत कार्यक्रम स्थगित गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकुमार लामाले बताए ।

यही वैशाख २५ गते ५६४ औँ बुद्धजयन्ती मनाइँदै छ । बौद्ध परिसरको कपडा भने फेर्न लागिएको बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले जानकारी दिए । बौद्धवासीलाई वैशाख २५ गते बेलुका घर घरमा दीपावली गर्न भने बैठकले आह्वान गरेको छ । बौद्ध चैत्य परिसरमा पनि दीप प्रज्वलन भने गरिने जनाइएको छ । २५६४ वर्ष अघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो ।

सिद्धार्थ गौतम कठोर तपस्याद्वारा ज्ञान प्राप्त गरी भगवान् बुद्ध बनेका थिए । बुद्धले ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यसलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाइन्छ ।

बुद्धजयन्तीको ऐतिहासिकता

विसं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गतेदेखि लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

यसमध्येमा इङ्ल्यान्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको एसियाको ज्योति’ (१८७९) तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको बुद्ध र उनको धम्म’ (१९५७) र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको सिद्धार्थ’ (१९२२) प्रसिद्ध छन् ।

यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले बुद्धिष्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’  (१९०६), फ्रान्सका डा वाल्पोला राहुलको बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । त्रिभुवन, नेपाल संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।

बुद्धका उपदेशलाई धर्मका रूपमा भन्दा पनि समाजका उन्नतिका लागि आवश्यक पर्ने अर्थशास्त्र, चिकित्साशास्त्र, राजनीतिशास्त्र आदिका मार्गदर्शन तत्वका रूपमा बुझ्नु बढी सान्दर्भिक हुने आधुनिक विश्लेषकहरुको भनाइ छ ।

अन्तर्जगत्का कुशल चिकित्सक तथा बाह्य जगत्का कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटकआदि पुस्तकमा सङ्ग्रहित छ ।

सम्राट अशोकले ईपू २४९ मा हित बुद्ध जातेती लुम्बिनी ग्रामेभनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको १२१ वर्ष पुगेको छ । तत्कालीन वेस्टर्न कमाण्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भदेखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा अध्ययन गरिएको थियो ।

सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ