नेकपा स्थायी कमिटी बैठक वैशाख २५ गर्ने निर्णय, केपी र प्रचण्डले गरे आत्मालोचना
बामदेवलाई पाल्पाबाट उमेद्वार बनाउन रानालाई राजिनामा गर्न लगाइने
प्रकाशित २०७७ वैशाख २० शनिबार
656
Shares
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ भएको केन्द्रीय सचिवालय बैठकले बुधबार अपराह्न ३ बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ। स्थायी कमिटीको बैठकको तयारीका निम्ति उक्त बैठक हुनेछ।
सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए। स्रोतका अनुसार पाल्पाबाट नेकपा सांसद दल बहादुर रानालाई राजिनामा गर्न लगाई वामदेवलाई उमेद्वार बनाउने नेकपाको तयारी छ। यसमा वामदेव राजी भएका छन्। शहरी भेगको वाहुल्य रहेको ठाउँभन्दा पहाडी भेग गौतमलाई जित्न उपयुक्त हुने ठहरपछि पाल्पा छानिएको बताइएको छ।
नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गरेको जानकारी दिदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताए।
पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुनेछ।
बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताए। उनले कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी दिएको प्रवक्ता श्रेष्ठले बताए।