arrow

न्याउलीखोपमा हराए न्याउली 

logo
गोपाल पोखरेल,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
neuli.jpg

उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ स्थित न्याउलीखोप जंगलमा न्याउली चरा भेटिन छाडेका छन् । साविक सिरिसे गाविसमा पर्ने यो जंगलमा केही बर्ष अघिसम्म प्रशस्त मात्रामा न्याउली भेटिने गर्थे । त्यस क्षेत्रमा रहेका न्याउलीको मुख्य बासस्थान भएकाले स्थानीयले जंगलको नाम नै न्याउलीखोप राखेका थिए । 

“८÷१० बर्ष अघिसम्म न्याउलीखोपमा प्रशस्त न्याउली पाइन्थ्यो” स्थानीय जानकार हेम दाहालले भने,“ बिशेष गरी फाल्गुण महिनादेखि बैशाख महिनासम्म त्यहाँ चौबिसै घन्टा न्याउलीको आवाज गुन्जन्थ्यो ।” तर हिँजोआज फाट्टफुट्ट मात्र न्याउली भेटिने उनले बताए ।

उत्तिस, लालिगुराँस, पात्लेजस्ता बस्न योग्य बोटबिरुवाको बिनास हुँदै गएकोले पनि न्याउलीको संख्या घटेको हुनसक्ने स्थानीय गंगा पोखरेलले बताए । “कृषकले खेतबारीमा प्रयोग गर्ने बिषादीको असर र पानीको असुविधाले पनि हुनसक्छ” उनले भने, “ हावापानीमा आएको परिवर्तनको असरले पो हो की ?”

पहिले त्यस क्षेत्रका बासिन्दा त्यहाँको बाटोबाट हिँडेरै तराइसम्म आउने र जाने गर्थे । बाक्लो र ठूलो क्षेत्रफल रहेको सो जंगलमा प्रशस्त मात्रामा न्याउली पाइने भएकाले जंगलको नाम उनीहरुले नै न्याउलीखोप राखेका थिए ।

सडक यातायातको बिस्तारसँगै हिँजोआज न्याउलीखोपको बाटोमा पैदल हिँड्नेको संख्या न्यून छ । मानिसको आवागमन कम हुँदै जाँदा न्याउलीको संख्या बढ्नु पर्नेमा झन घट्दै गएको पोखरेल बताउँछन् ।

नेपाल, भारत, भुटान, बंगालादेशलगाएतका दक्षिणपूर्वी यसियाका देशहरुमा न्याउली चरा पाइन्छ । नेपालमा भने फाल्गुणदेखि बैशाख अन्तिमसम्मको उजाड समयमा पाइने र निरन्तर एकोहोरो कराउने भएकाले यसको आवाजले मानिसहरुलाई बिरह चलाउँछ भन्ने भनाई छ । 

डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार न्याउली चरा फागुनदेखि बैशाख अन्तिमसम्मको समयमा हिमालय पर्वतको तल्लो र मध्यम तटिय क्षेत्रको ३ हजार मिटरसम्म पाइन्छ ।  न्याउली  अहिलेसम्म लोपोन्मुखको चराको सुचीमा नरहेको साह बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ