arrow

१६ कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको 'कन्ट्रयाकट ट्रेसिङ', पूरै पालिका सिल

logo
काशीराम शर्मा
प्रकाशित २०७७ वैशाख २२ सोमबार
nepaljung-corona-victim.jpg

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमणको जोखिम वढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्जमा  आइतबार थप कोरोना संक्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको  प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उनका अनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको  छन् । 

प्रजिअ खड्काले भने, “उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।” उनले कोरोना संक्रमणको जोखिम हुन  नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् । लकडाउनको ३८ औँ दिन यहाँ संक्रमण देखिएको थियो । 

नेपालगन्ज–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक संक्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना संक्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

संक्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ । संक्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

गत शुक्रबार एक जना र आइतबार १५ जना संक्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

पहिलो संक्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । नेपालगञ्जमा एकाएक संक्रमितको सङ्ख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ । कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सीमा पूर्णरुपमा सिल गरेको छ । 

नेपालगञ्जसँग जोडिने दक्षिणतर्फको सीमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाइ गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । आपत्कालीन सेवाबाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरुपमा रोक लगाएको नगर प्रमुख रावतले जानकारी दिए । 

कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । 

यस्तै राप्तीसोनारी गाउँपालिकाले नेपालगञ्जसँग जोडिएको ६ नं वडाको नाका सिल गरेको छ । सो वडाको नेपालगन्जसँग जोडिएको राप्ती पुललाई पूर्णरुपमा बन्द गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनका अनुसार नरैनापुरसँगको पूर्वी नाका पनि बन्द गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्जवासीलाई सावधानी अपनाउन आह्वान गर्दै नगरवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । ‘कन्ट्रयाक्ट ट्रेसिङ’मार्फत संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान भइरहेको पनि उनले जानकारी दिए । 

नगर प्रमुख राणाले सङ्कटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गर्दै भने, “सङ्कटका बेला नेपालगञ्जवासीले संयमता अपनाउनुपर्छ, हामी आत्तिनु हुँदैन । सरकारले गरेको लकडाउन सबैले पालना गरेर सावधान बनौँ”, उनले विज्ञप्ति जारी गर्दै विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा नगरवासीलाई जोखिमबाट बच्न र सचेत हुन आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ