arrow

कोरोना संक्रमण देखिएको नेपालगञ्जमा झडप

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
swab-collection-nepalgunj.jpg

नेपालगञ्ज । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । 

बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए ।

 प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका  प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । 

स्थानीय प्रशासनले  उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

निषेधाज्ञा अवधिमा सुरक्षा र  स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

 आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र  राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।  

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र  खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 

नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ