लकडाउनलाई निरन्तरता दिइने

रासस, प्रकाशित मिति : २०७७ बैशाख २३ मंगलबार
तस्बिर : फाइल

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ।”

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ।

नयाँ