माधव नेपालदेखि ईश्वर पोखरेलसम्मलाई खुसी पार्दै युवराज खतिवडा

संचार मन्त्रालय, रेडियो नेपाल र नेपाल टिभीमा को को हुँदैछन नियुक्त, परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार दुर्घटनामा

हाम्राकुरा संवाददाता, प्रकाशित मिति : २०७७ बैशाख २४ बुधबार
डा. युवराज खतिवडा

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लाने बैशाख २० को नेकपा सचिवालयको निर्णयपछि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा यात्रा निश्चित भएको छ । र, संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका उनको मन्त्रीपद ६ महिनापछि पनि सुरक्षित भएको छ । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई खुसी पार्दा उनको मन्त्री पदमा तलमाथी हुने नभएपनि उनी अहिले पार्टीका सबै गुटलाई मिलाउन लागिपरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि खुसी पार्न खतिवडाको प्राथमिकता देखिन्छ। बरिष्ठ नेता माधव नेपालकै सिफारिसमा संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस सल्लाहकारमा टंक पन्तलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेका छन् । संभवतः बुधवारकै मन्त्रिपरिषदबाट पन्त संचार प्रविधि मन्त्रालयको सल्लाहकार हुँदैछन् । माधव नेपाल निकट रहँदैआएका पन्तलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सिफारिस छ।

त्यसैगरी, रेडियो नेपालको कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई पहिलो स्पष्टीकरण सोधिसकिएको छ । जस्को जवाफ कार्कीले बुधवार पेश गर्दैछन्। तर उनलाई हटाउनकै लागि मन्त्रिपरिषदबाट अर्को स्पष्टीकरण सोधिदैछ। दुई पटक स्पष्टीकरण सोधेर विगतमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई जस्तै कार्कीलाई हटाउन लागिएको छ । 

कार्कीलाई हटाइसकेपछि रेडियो नेपालको कार्यकारी निर्देशकमा गोपाल खनाललाई नियुक्ति गरिंदैछ । खनाल हाल गोरखापत्रका सल्लाहकार सम्पादक हुन् । उनलाई गोरखापत्र संस्थानकै कार्यकारी अध्यक्षमा नियुक्ति गर्ने तयारीमा खतिवडा रहे पनि पछि उनी हच्किएका थिए । अध्यक्ष कृष्णमुरारी भण्डारी र ब्यवस्थापन सल्लाहकार टीकाराम राईलाई हटाउने र खनाललाई नियुक्ति गर्ने तयारी उनको थियो । तर पूर्वसंचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले गरेका नियुक्ति नचलाउन चेतावनी दिएपछि उनी ब्याक भएका हुन् । र, खनाललाई रेडियो नेपालको कार्यकारी निर्देशक बनाउन लागेका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका साढुभाइ समेत रहेका गोपाल खनाललाई नियुक्ति गरेर खतिवडा उनलाई पनि गुन लगाउन लागेका छन् । वैदेशिक मामिलाका जानकार मानिने खनाल प्रधानमन्त्री एवं अर्थमन्त्रीको जिल्ला झापाका पनि हुन् । झापाको हुनु उनको नियुक्तिको अर्को प्लस प्वाइन्ट हो ।

यसैगरी टंक पन्तको अवधि सकिएपछि रिक्त नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सम थापालाई नियुक्त गर्न अध्यक्ष महेन्द्र बिष्टमाथि दबाब परेको छ। बिष्ट आफू अनुकूलको ब्यक्ति नियुक्त गर्ने तयारीमा थिए । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम थापालाई नियुक्त गर्न दबाब दिएका छन् । थापा हिमालय टिभी हुँदै पछिल्लो पटक योहो टिभीमा थिए।

लकडाउनमै परराष्ट्र मन्त्रीका सल्लाहकार दुर्घटनामा
जनता लकडाउनमा घरभित्रै छन्। सडक लगभग खाली छ। तर यहि खाली सडकमा पनि कतिपय सवारी दुर्घटनामा परेका छ्न्। परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवाली सोमबार राति बानेश्वरमा दुर्घटनामा परेका हुन्। लकडाउनका बेला सडक खाली हुँदा पनि उनको गाडी राति डिभाइडरमा ठोक्किएको थियो। सिभिल अस्पताल बानेश्वरमा उपचार गराइरहेका उनले मन्त्रालयबाट फर्केर घर जाने क्रममा बानेश्वरमा दुर्घटनामा परेको बताए। उनले बुधवार नै डिस्चार्ज हुन लागेको बताए।

नयाँ