- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेत्रविक्रम चन्द 'विप्लब' समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उनी लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा पुगेका थिए ।
प्रहरीको निगरानीमा रहका उनलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उनीको उपचार गर्ने काम जारी छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमी हुन नदिने बताए । अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उनीको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिए ।
डा अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ ।
अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै उनीले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिए ।
अध्यक्ष डा अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उनीको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे अवगत गराएको छ । विरहीको परिवारले पनि अस्पतालमा उनीको आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ ।
पार्टीको मर्यादाक्रममा छैटाँ तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख छन् । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका वडा नं १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उनीको ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उनीलाई निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उनीलाई भरतपुर अस्पताल ल्याएको हो ।
रत्ननगर नगरपालिका वडा नं ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आउनुभएको थियो । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गर्नुभएका उनी नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले चन्द निकट राजनीतिमा सक्रिय छन् ।