arrow

सुर्खेतमा तीन घण्टामा ४६ मिलीमिटर वर्षा

logo
रासस,
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत।  भारतको उत्तराखण्ड नैनीताल आसपासबाट विकसित भएको पछिल्लो मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्लामा पाँच र दैलेखमा ७.२ मिलीमिटर वर्षा मापन गरिएको छ । त्यस्तै बर्दियाको रम्बापुरमा २५, रानीजरुवामा १२, चेपाङ बबइमा २२.४, कैलालीको चिसापानीमा १९.४ र अछामको साँफेबगरमा दुई मिलीमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले आज बिहान २ बजे भारतको नैनीतालमा विकास भएको प्रणाली सुर्खेत आइपुग्न तीन घण्टा लागेको बताए। बिहान ५ बजेदेखि सुर्खेतमा हावाहुरीसहितको चट्याङ र असिना पार्ने बादल लाग्न शुरु भएको थियो । “तीन घण्टामा ४६ मिलीमिटर वर्षा भएको छ, यो प्रणाली तीव्रगतिमा पूर्वी नेपालतर्फ सरिरहेको छ”, कार्यालय प्रमुख पराजुलीले भने। हाल सुर्खेतलगायत आसपासको मौसममा सुधार आएको छ । दैलेखको उत्तरी उच्च भेगमा हिमपात भएको छ ।

 सुर्खेतको रातानाङ्लामा गत वर्षदेखि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) सञ्चालनमा आएपछि यहाँबाट पश्चिम नेपालको मौसमी विवरण सङ्कलन भइरहेको छ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ