arrow

लकडाउनले बनायो मजदूरलाई व्यवसायी

logo
नारायण अधिकारी,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
lockdown-majdur.jpg

चितवन । लकडाउनका कारण कतिपय मजदूरलाई दैनिक गुजाराको समस्या परेको भएपनि यहाँका मजदूर भने व्यवसायी बनेका छन् । लकडाउन अघि मजदूरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदूरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्‍याउन थालेका हुन् । 
 
साइकलमा रु तीन सयको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय शुरु हुने गरेको छ । कालिका नगरपालिका–४ का सोम थापामगर टिप्परका चालक हुनुहुन्थ्यो । लकडाउनसँगै टिप्पर चल्न छोडेपछि आजभोलि उहाँ तरकारी व्यवसायी बन्नुभएको छ । 
 
पदमपुर क्षेत्रमा उत्पादित तरकारी खरीद गरेर भरतपुर क्षेत्रमा बिक्री गर्नु उहाँको अहिले दैनिकी बनेको छ । दैनिक रु सात÷आठ सय बचाउन सकिने उहाँको भनाइ छ । जुन तरकारी बिक्री हुन्छ, त्यही तरकारी किनेर ल्याउने गरेको उहाँले बताउनुभयो । बिहान दुई÷तीन घण्टा समय दिएपछि त्यति कमाई हुने थापामगरको भनाइ छ ।  
 
पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन तर उहाँले आजभोलि तरकारीको व्यापार गर्न थाल्नुभएको छ । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उहाँले बताउनुभयो । 
 
भरतपुर क्षेत्रमा ई–रिक्सा चलाउँदै आउनुभएका विष्णु कार्की यतिबेला हरियो मकै बिक्री गर्न व्यस्त हुनुहुन्छ । ई–रिक्सा नचलेपछि बिहानै पश्चिम चितवन र गैँडाकोट पुगेर बारीबाटै मकै ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । राम्रो मिहिनेत गरे एकै दिन रु आठ÷नौ सय कमाई गर्न सकिने उहाँले बताउनुभयो । बिहान दुई÷तीन घण्टा खट्दा यति आम्दानी हुने गरेको उहाँको भनाइ छ । 
 
नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी बजार लकडाउनसँगै बन्द गरिएको छ । जसका कारण स्थानीय उत्पादन उपभोक्तासम्म लैजान समस्या भइरहेका बेला थपिएका यस्ता व्यापारीले घरघरमा तरकारी र फलफूल पुर्‍याउन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् भने स्थानीय उत्पादनले बजार पाएको छ । 
 
सो बजारका प्रबन्ध निर्देशक एवं फलफूल तरकारी थोक व्यवसायी सङ्घ चितवनका निवर्तमान अध्यक्ष थिरप्रसाद धिताल घरघरमा तरकारी बिक्री गर्नेको सङ्ख्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार कागती, आलु, प्याज, खरबुजा जस्ता केही भारतीय उत्पादन उनीहरुले बेचेको भए पनि अन्य स्थानीय उत्पादनलाई घरघरमा पुर्‍याउन थालेका हुन् । मजदूरी गर्नेहरुले व्यवसाय गर्न थालेको उहाँले बताउनुभयो । 
 
बजार बन्द रहेका बेला उनीहरुका कारण उपभोक्ताले आवश्यक तरकारी, फलफूल किन्न पाएको धितालले बताउनुभयो । कतिपयले ठेलामा तरकारी, फलफूल बिक्री गर्ने गरेका छन् । ठेला नहुनेले साइकल पछाडि क्रेट बाँधेर वा डोको झुण्ड्याएर पनि व्यवसाय गरिरहेका छन् । 
 
अण्डा र जिउँदो कुखुरा घरघरमा पुर्‍याउनेको सङ्ख्या पनि बढ्दो छ । जिल्लामा एक चरणको राहत वितरणपछि राहत वितरण गरिएको छैन । लकडाउनको समयमा राहतको पर्खाइमा भन्दा गुजारा टार्न व्यवसायमा लाग्नेहरु बढ्दै गएका छन् । 
 
जिल्लाको कालिका नगरपालिका क्षेत्रमा केरासँगै तरकारी पाइन्छ भने पश्चिम चितवन तरकारीको पकेट क्षेत्र हो । पूर्वी चितवनका विभिन्न क्षेत्रमा पनि तरकारी पाइन्छ । यद्यपि यहाँ बिक्री गर्नेहरुले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका उत्पादनलाई बजारमा ल्याउने गरेका छन् । हरियो मकै भने गैँडाकोटबाट पनि ल्याउने गरिएको छ । लकडाउनको सदुपयोग गर्न सकेमा जीविकोपार्जन गर्न गाह्रो छैन भन्ने सन्देश यहाँका मजदूरहरुले दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ