arrow

'ठूलो भाइको शैलीमा भारतले हेप्ने, चीनले पनि उचित व्यवहार गरेन'

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
lipulekh-darchula-kalapani.jpg

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताए ।

 सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरे ।

सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तरराष्ट्रिय अदालतमा जानुपर्ने बताए । सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्को छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए ।

सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गरे । 

सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गरे । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाई समेत कठिनाइ सिर्जना गरेको गुनासो गरे ।

सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गरे । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ