arrow

भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
covid-test-corona.jpg

कपिलवस्तु । भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको सङ्ख्या १५ पुगेको छ । 

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । 

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए । 

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक÷एक जना युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए । गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए ।

संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १२० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ