arrow

कान्दाका चेपाङलाई चाउचाउ राहत !

logo
नारायण अधिकारी,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
chepang_village11.jpg

चितवन । जिल्लाको विकट गाउँ कान्दाका बासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले  राहत हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले रु ४० हजार पर्ने तीन क्विन्टल चाउचाउ आज हस्तान्तरण गरेको हो । सो गाउँमा विस २०६७ मा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको निधन भएको थियो । 

क्लबका अध्यक्ष नारायण अधिकारी, प्रथम उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष तिलक रिमाल, निर्देशक राधेश्याम खतिवडा र स्मार्ट फुड एण्ड स्न्याक्स प्रालिका महाप्रबन्धक विकास अमात्यले उद्योग परिसर रत्ननगर, पिठुवामा आयोजित संक्षिप्त कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुभएको हो । 
अध्यक्ष चेपाङले  ७० परिवारलाई  प्राप्त चाउचाउ वितरण गरिने जानकारी दिनुभयो । चाउचाउसँगै सो क्षेत्रको विकासमा लागिरहेको मितेरी फाउण्डेशन नेपालले सो क्षेत्रमा वितरण गर्न खाद्यान्न सामग्री लगेको  संस्थाका अध्यक्ष रवीन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार फाउण्डेशनका सदस्यले आर्थिक सङ्कलन गरी ७० बोरा चामल, १४० पोका नून, ७० पोका तेल, १४० वटा साबुन र ७० किलो केराउ पठाएको छ । 

ती सामग्री त्यहाँका सबै परिवारलाई वितरण गरिँदैछ । आर्थिकरुपमा विपन्न चेपाङ समुदायको बस्ती रहेको सो क्षेत्र नगरपालिकामा पर्ने भए पनि निकै विकट क्षेत्रमा पर्दछ । 

त्यहाँका बासिन्दालाई आफ्नो बारीको उब्जनीले वर्षभरिलाई खान पुग्दैन । कोरोनाका कारण भएको लकडाउनका कारण शहरी क्षेत्रमा काम पनि नपाउने भएपछि उनीहरुलाई खानाको समस्या परेको छ । 

संरक्षणमा पर्यटन व्यवसायी 

सौराहाका पर्यटन व्यवसायी ‘लकडाउन’को समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन् । लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायी वन्यजन्तुको बासस्थान संरक्षणमा जुटेका हुन् । 

उनीहरुले निकुञ्जसँग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन् । प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वन, जीप समिति, रत्ननगर नगरपालिका वडा नं ६, ७ र विभिन्न व्यक्तिको सहयोगमा पर्यटन व्यवसायीले घाँसेमैदान व्यवस्थापन गरेका हुन् । उनीहरुले निकुञ्जभित्र पर्ने पुरानो पदमपुरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका हुन् । 

सौराहा हात्ती तथा जीप बुकिङ् सेन्टरका सचिव राममणि खनालका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरिएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्यका लागि यसले सहयोग पुग्ने उहाँको भनाइ छ । पर्यटकको आवागमन नहुँदा पर्यटन व्यवसायीले संरक्षणमा काम गर्नुपर्ने भन्दै यो अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । रु चार लाख ५८ हजारको लागतमा सो क्षेत्र व्यवस्थापन गरिएको हो । 

घाँसे मैदानसँगै पोखरीको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सकारात्मक प्रभाव पर्ने निजी सङ्घसंस्था तथा व्यवसायीको भनाइ छ । घाँसे मैदान र पोखरीको व्यवस्थापनले वन्यजन्तु गाउँमा पस्न रोक्न सकिनेछ । निकुञ्जभित्रै घाँसे मैदान र पोखरी व्यवस्थापन गर्न सक्दा वन्यजन्तु चरनका लागि बस्ती पस्दैनन् ।   

निकुञ्जले यस चालू आर्थिक वर्षमा घाँसे मैदान र पोखरी व्यवस्थापनका लागि मात्रै रु तीन करोड ५० लाख खर्च गर्दैछ । सो रकमबाट १०० हेक्टर पुरानो घाँसे मैदान र ६०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्दैछ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार पुरानो घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ । नयाँ ३०० हेक्टर सम्पन्न भइसकेको छ भने बाँकी व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाँसे मैदान र पोखरी व्यवस्थापनको काम गर्नसके चोरीसिकारी नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ । निकुञ्जको पूर्वी क्षेत्रमा मात्रै चार वटा ठूला तालसहित ३५ वटा पोखरी निर्माण भइरहेको छ । निकुञ्जका सबै क्षेत्रमा गरेर अहिले ७५ वटा ताल तथा पोखरी निर्माण गरिँदैछ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पाँच वर्षसम्म घाँसे मैदान व्यवस्थापनको कामलाई महाअभियानका रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभयो । अहिले निर्माण गरिएका घाँसे मैदानको व्यवस्थित व्यवस्थापन गर्नसकेमा वन्यजन्तु बस्ती नपस्ने उहाँको भनाइ छ । फँडानी गरिएको स्थानमा नियमितरुपमा पाँच वर्ष घाँसे मैदानका रुपमा राख्नसके  वन्यजन्तुको चरन क्षेत्रका रुपमा विकास भई संरक्षणमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो । 

निकुञ्ज स्थापनाका समयमा २० हजार हेक्टर घाँसे मैदान भएको भए पनि घट्दै गएको पाइन्छ । रुपाखेतीका अनुसार अहिले १० हजार हेक्टर मात्र घाँसे मैदान रहेको र यसलाई व्यवस्थापन गर्न कठिन भएको छ । यस वर्षबाट उपकरण प्रयोग गरी घाँसे मैदान व्यवस्थापन शुरु गरिएको छ ।  

 गैँडा स्थानान्तरण गर्न माग 

सौराहाका पर्यटन व्यवसायीले निकुञ्जको पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरणका लागि माग गरेका छन् । उनीहरुले पूर्वी क्षेत्रमा पोथी गैँडाको अभाव भएको भन्दै २० वटा पोथी गैँडा स्थानान्तरणका लागि निकुञ्जसँग माग गरेका हुन् । 

गैँडाको अभावका कारण यस क्षेत्रमा पहिलेको तुलनामा गैँडा कम सङ्ख्यामा देखिने गरेको व्यवसायीले बताएका छन् । पर्यटकीय क्षेत्रमा गैँडाको अभाव हुनुले यस क्षेत्रको विकासका लागि चुनौती थपिएको भन्दै व्यवसायीले गैँडा स्थानान्तरणका लागि माग गरेका हुन । दुई वर्षअघि आएको बाढीका कारण पूर्वी क्षेत्रमा रहेका गैँडा बगाएर पश्चिम क्षेत्र पु¥याएको थियो । गैँडा बाढीले बगाएसँगै पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्या कम भएको क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष  राममणि खनालले बताउनुभयो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले आन्तरिकरुपमा गैँडा स्थानान्तरणका लागि विभागसँग अनुमति लिएर गर्न सकिने बताउनुभयो । बाढीका कारण पूर्वी क्षेत्रमा जङ्गली जनावरको कमी भएको भन्दै उहाँले यसका लागि विभागसँग कुरा भइरहेको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यहाँ आउने धेरै पर्यटक सौराहा बस्ने गर्दछन् । उनीहरु निकुञ्जको पूर्वी क्षेत्रमा घुम्ने गर्दछन् । ती क्षेत्रमा गैँडाको सङ्ख्या कम भएसँगै व्यवसायीले गैँडा सार्न माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ