arrow

सरकारले भन्दा पहिले कोरोना सचेतना कांग्रेसले फैलायो – निधि

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
bimalendra-nidhi.png

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले भन्दा पहिले नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको सचेतना जनस्तरमा फैलाएको दावी गरेका छन् । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको परामर्शको बैठकमा बोल्दै उपसभापति निधिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारी पहल भन्दा पनि पहिला नेपाली कांग्रेसले जनस्तरमा सचेतना फैलाएको स्पष्ट गरे । 

पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा प्रतिष्ठानका प्रमुख एवम् केन्द्रीय उपसभापति निधिको अध्यक्षतामा सम्पन्न बैठकमा निधिले भने, ‘कोरोना भाइरस नियन्त्रणको प्रयासमा जिम्मेवार प्रतिपक्षका नाताले सरकारलाई समर्थन गरेको कांग्रेसले उसका कमिकमजोरीमा भने निरन्तर खबरदारी गर्दै आएको छ । केन्द्रदेखि वडा तहसम्म पार्टी संयन्त्र परिचालन गरेर स्वास्थ्य सचेतना तथा राहत बितरणको कामलाई निरन्तरता दिइएको हुनाले आगामी दिनमा समेत यस कार्यलाई प्रतिष्ठानका तर्फबाट समेत सहयोग गरिनेछ ।’ 

बैठकमा राजधानीमा उपलव्ध उपस्थित सदस्यहरुले समसामयिक विषय सहित आगामी दिनमा प्रतिष्ठानले गर्नुपर्ने अनुसन्धान, नीति र प्रशिक्षणका विषयमा आ–आफ्ना विचार प्रकट गरेका थिए । 

यसअघि प्रतिष्ठानले गण्डकी, ५ नं। प्रदेश, कर्णाली र वाग्मती प्रदेशमा गरी महाधिवेशन प्रतिनिधिहरुकालागि पाँच वटा  प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । सोमबार भएको बैठकले कोरोना अघिको शैलीबाट तत्काल प्रशिक्षण दिन संभव नभएको ठहर गर्दै भिडियो कन्फ्रेसबाट बाँकी प्रदेश र तहगत रुपमा जिल्ला तथा क्षेत्र समेतमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र प्रतिष्ठानका हरेक संरचनालाई भिडियो कन्फ्रेस मार्फत् जोड्ने निष्कर्ष निकालेको छ । 

तयारी अवस्थामा रहेको आधार पाठ्यक्रमलाई चाँडै प्रकाशन गर्नु पर्ने, कोरोनाले पारेका आर्थिक, सामाजिक तथा समाज मनोविज्ञानका विषयमा समेत विमर्श गर्नुपर्ने हुनाले चांडै नै भिडियो कन्फ्रेन्स मार्फत बैठक गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले प्रशिक्षणका लागि प्रतिष्ठानले तत्काल गर्नु पर्ने विषयहरुको जानकारी गराएका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरस, लिपुलेक, सिंहदरवार सामु चिनिया नागरिकहरुबाट भएको घटना लगायतका राष्ट्रिय मुद्दा संम्बोधन गर्ने सबालमा सरकार चुकेको भन्दै जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले ती मुद्दामा निरन्तर खबरदारी गर्दै आएको जानकारी दिँदै भने, ‘प्रतिष्ठानले समेत यस्ता गम्भीर मुद्दाहरुको अध्ययन  तथा विश्लेषण गरी उचित सुझाव दिनु पर्दछ । भोलिका दिनमा यस्ता मुद्दामा कसको कस्तो भूमिका रह्यो भन्ने कुरा जनताले मूल्यांकन गर्नेछन् ।’

बैठकमा प्रतिष्ठानका सदस्यहरु— मनोहरनारायण श्रेष्ठ, रञ्जित कर्ण, डा। जगदीशचन्द्र पोखरेल, खिलानाथ दाहाल, हरिहर विरही, तारानाथ दाहाल, डा प्रभु बुढाथोकी, राजकुमार नकर्मी, राजु नेपाल, प्रमोदहरि गुरागाइँ, मोतिराज वम, भद्रा भण्डारी, नानु वाँस्तोला, प्रसिस महरा, योगराज कँडेल, लालबहादुर पुन, रामजी कंग्रेन र आमन्त्रित रामजी दाहालले समसामयिक विषयमाथि आ–आफ्नो विचार प्रकट गरेका थिए । 

बैठकमा ई। दीपेश विष्टले सूचना प्रविधिको उपयोगका विषयमा सदस्यहरुलाई जानकारी दिएका थिए । विष्टकै प्राविधिक संयोजनमा केही दिन पहिले परीक्षणका रुपमा प्रतिष्ठानले भिडियो कन्फ्रेन्स समेत गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ