arrow

सशस्त्रको टोली लिएर सेनाको हेलिकप्टर पुग्यो सीमामा, तर कालीपानी भन्दा १२ किलोमिटर तलै बस्ने

logo
प्रकाश भट्ट,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
army-apf-kalapani.gif

दार्चुला। दार्चुलाको कालापानी क्षेत्रका लागि सेनाको हेलिकप्टर बन्दोबस्तीका सामान लिएर उडेको छ । बुधवार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टर विओपीका लागि आवश्यक पर्ने सामान र सशस्त्र प्रहरीको टोली लिएर कालापानी क्षेत्र प्रस्थान गरेको हो ।

कालापानीको १२ किलोमिटर तलै छाङरुमा स्थापना हुने सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली गएको हो ।

टोलीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायण बाबु थापा समेत रहेका छन् ।

कालापानी भन्दा १२ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि यसअघि नै जग्गाको टुङ्गो लागि सकेको छ। उक्त स्थानमा विओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु हेलिकप्टर मार्फत ओसारपसार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टले जानकारी दिए ।

भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले सडक देखी सदन सम्म चौतर्फी बिरोध भइरहेको छ । छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रेखदेखका साथै अपराध नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ ।

दार्चुलाको व्यास गाउँपालिका १, छाङ्गरुको गागामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो । तर सरकारले सशस्त्रलाई सीमा क्षेत्रमा पठाउन लागेको भनिए पनि अहिले सशस्त्र बस्ने भन्दा करिब १९ किलोमिटर माथि तिंकरमा पहिले नै नेपाल प्रहरीको एउटा टोली बस्दै आएको पाइएको छ। 

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको हो। सरकारले गत मंसिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन । 

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । 

त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ