arrow

गुट वलियो बनाउन लागेका प्रधानमन्त्रीका कारण देशमा समस्याः सिटौला

लोकतान्त्रिक व्यवस्थालाई बचाउने सम्मको वैकल्पिक कार्यक्रममा सिटौलाको जोड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
krishna-sitaula.JPG

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकार देशलाई बलियो बनाउन भन्दा पनि नेकपा र नेकपा भित्रको पनि आफ्नो गुटलाई बलियो बनाउन मात्र लागिपरेको बताएका छन्। 

जीपी कोइराला लोकतन्त्र सम्बर्द्न केन्द्रले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसँग गरेको एक छलफल कार्यक्रममा बोल्दै सिटौलाले कोभिडबाट देशका नागरिकलाई बचाउन, अर्थतन्त्र जोगाउन सरकारलाई साथ दिन सबै तयार रहेको बेलामा सरकार तथा त्यसको नेतृत्व भने उल्टो बाटो हिंडिरहेको बताए। उनले हालैको सांसद अपहरण घटनादेखि अध्यादेश प्रकरणसम्म सम्झाउँदै भने, ‘ देशलाई एकताबद्ध बनाएर जानुपर्नेमा सरकार अध्यादेश प्रकरणमा लागेर अर्काको घर र पार्टी विगार्न लाग्यो। लोकतन्त्रमाथि प्रहार गर्न उद्यत रह्यो। यस्तो सरकारबाट देश र जनताले के अपेक्षा गर्ने?’ 

सिटौलाले सीमाको विषयमा पनि सरकारले पुरै लापरवाही गरेको बताए। सीमा समस्यामा जनस्तरबाट चर्को बिरोध भएपछि मात्र केहि ब्यूँझिएपनि सरकारको उदासिनता कारण यो विवाद जटिल बनेको उनले बताए। प्रधानमन्त्रीलाई सीमा विवाद मिलाउन उच्चस्तरीय कुटनीतिक पहल गर्न सुझाव दिइए पनि प्रधानमन्त्रीले त्यसो नगरेको उनले सुनाए। 

सरकार सबै मोर्चामा असफल देखिएको उल्लेख गर्दै सिटौलाले अब सरकारको आलोचना गरेर मात्र नपुग्ने भन्दै यसका बिरुद्धमा वैकल्पिक कार्यक्रम ल्याउनुपर्ने बताए। उनले भने, ‘ यो व्यवस्थालाई बचाउने सम्मको वैकल्पिक कार्यक्रम ल्याउनुपर्छ। देश संकटग्रस्त हुँदै गएको छ। राजनीतिक आर्थिक र सामाजिक रुपमा नयाँ कार्यक्रम ल्याउनु पर्छ।‘ 

देश र जनता बचाउने नयाँ चिन्तनधारा संसदमा र पार्टीमा देखिनुपर्ने जोड दिएका सिटौलाले सरकारका कारण खस्केको जनताको मनोवल उकास्ने काममा नेपाली कांग्रेस लाग्नुपर्ने बताए।  

उनले विदेशबाट आउन चाहने नेपालीको यहाँ आउन पाउनु नैसर्गिक अधिकार रहेको उल्लेख गर्दै त्यसको सम्मान गर्दै उनीहरुलाई निश्चित मापदण्ड बनाएर नेपाल ल्याउनुपर्ने बताए।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ