arrow

कोरोनाको जोखिम बढेपछि पाल्पा बन्द

logo
रासस,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
palpa-buspark.jpg


पाल्पा । छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले शनिबार बिहान ५ देखि जेठ ५ गते सोमबार राति १२ बजेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिए ।

  औषधि, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक वस्तुको गाडीबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योगव्यवसायसमेत सञ्चालन नगर्ने निर्णय बैठकले गरेको छ ।

आइशोलेशन वार्ड बनाइने
 जिल्लामा कोरोनाको सङ्क्रमणका बिरामीका लागि १२० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ । कोरोना रोकथामका लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा पचासपचास, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०÷१० शय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ । यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी  ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रmमण बढ्दै जान थालेपछि रामपुर नगरपालिकासँग जोडिएका विभिन्न पालिकाका सीमानाकामा कडा गर्न ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । अन्तरपालिका तथा गण्डकी प्रदेशसँग जोडिएका ३२ सीमानाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

यसैबीच कोभिड–१९ बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत भगवान्को प्रार्थना गर्न थालेका छन् ।  प्रत्येक दिन बिहान, दिउँसो र  साँभm सामाजिक दूरी कायम गरी ज्येष्ठ नागरिकले कोरोना भगाउन भजनकीर्तन गर्दै आत्मशान्तिको कामना गरिरहेका छन् । 

 कोरोना भाइरस सङ्क्रमणले महामारीको रुप लिँदै गएपछि यहाँ कोरोनाको कहर भगाउन भजनकीर्तन गर्दै भगवान्सँग प्रार्थना गर्ने गरिएको ७७ वर्षीय कृष्णदासी पौडेलले बताए । 

मन्दिरमा हुने धार्मिक गतिविधि बाहिरबाट आउनेका लागि खुला गरिएको र पूजापाठ सबै स्थगन गरिएको मन्दिरका हेरालु ६२ वर्षीय भगवती उपाध्याय बताउनुहुन्छ ।  केलादीधाम आश्रममा हाल पाँच हेरालुसहित २२ ज्येष्ठ नागरिक रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधामका सचिव घनश्याम खनालले बताए । यहाँ बाहिरबाट भने प्रवेशमा निषेध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ