arrow

कोरोनाले मृत्यु भएका महिलाको शिशु तथा आफन्तमा देखिएन कोरोना

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-test.jpg

 धुलिखेल । कोरोना भाइरस संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ । 

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो । मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा नरेन्द्र झाले बताए । उनका अनुसार १० दिनकी सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरी आइसोलेशनमा राखिएको थियो ।

मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको क्वारेन्टाइनमा राख्नेगरी पठाउन लागिएको झाले जानकारी दिनुभयो । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पुर्‍याइएकी ती महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतक परिवारका सदस्यले नै ती महिलाको स्वासप्रस्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस संक्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्‍याएका थिए ।

मृतकका परिवारले चिकित्सकलाई वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि ती महिलाको स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । धुलिखेल अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी धुलिखेल ल्याइएको थियो । उनका अनुसार धुलिखेल अस्पतालमा पिसिआर परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडाँै पठाइएको थियो । 

शनिबार साँझ स्वास्थ्य मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालका अनुसार कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण एक महिला र एक पुरुषको मृत्यु भएको छ । 

ती महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको ताम्राकारले जानकारी दिनुभएको छ । उनका अनुसार मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइतबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ