arrow

पहिलो पटक कोरोना पुष्टि भएपछि गुल्मीमा त्रास

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
gulmi_district_map.png


गुल्मी । पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास देखिएको छ ।  मदाने गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएको हो  ।

उहाँ ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट ए्म्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल जानुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
  
स्वास्थ्यकर्मीको सल्लाहमा तत्कालै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही जानुभएको हो । ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २  गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार संक्रमणको पुष्टि गरेपछि यतिबेला  जिल्ला थप त्रसित बनेको छ । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिए । परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।  

 पोलिक्लिनिक बन्द
गुल्मी मदानेका कोरोना संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए  । 

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि शुरुमा पोलिक्लिनिकमा जाँच गराउँदा सम्भव नभएपछि उहाँ रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।  छाया पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ