arrow

नक्सा जारी हुँदैमा समस्या सकिएको छैन – उमेशजंग रायमाझी

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
umeshjung-rayamajhi.gif

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नेपालको नक्सा जारी गर्दैमा समस्या नसकिएको बताएका छन् । 

सामाजिक संजालमा विचार राख्दै रायमाझीले लेखेका छन्, ‘नक्सा जारी भयो, समस्या सकियो भन्ने होइन। नक्सा त जारी भयो नि यसले चुनौतीलाई विधिवत गरेको छ । भारतसंग युद्ध नेपालको प्राथमिकताको बिषय होइन। तर देश आत्मानिर्भर र बलियो त हुन पर्यो। राष्ट्रिय एकता जरुरी छ । राष्ट्रपतिको संयोजकत्त्वमा पूर्वप्रधानमन्त्रीहरू समेतको संयन्त्र बनाउ।’

के भएको थियो सोमबारको मन्त्रिपरिषद् बैठकमा ?
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । 

बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताए। नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिए।

नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उनको भनाइ छ। यो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ। अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको पनि उनले बताए।

अब यो नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने उनले बताए। मन्त्री डा खतिवडाले सरकारले तोकिएको दिनमा नै बजेट संसद्मा पेश गर्ने गरी तयारी अघि बढिरहेको बताए।

भारतले गत नोभेम्बरमा नक्सा सार्वजनिक गरेसँगै नेपालमा सीमाका विषयमा विभिन्न स्तरमा छलफल भएको थियो। भारत सरकारले लिम्पियाधुरा क्षेत्रमा निर्माण भएको सडकको उद्घाटन गरेसँगै नेपालमा लिम्पियाधुरासहितको नक्साका लागि सबै पक्षबाट तीव्ररुपमा माग भएको थियो। भारतले नेपालको भूमि अतिक्रमण गरेसँगै सरकारले केही दिन पहिले मात्रै दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा सीमा निगरानी चौकी स्थापना गरेको थियो।

यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश भएको सरकारको नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख थियो। नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले समेत यस क्षेत्र समेटेर नक्सा सार्वजनिक गर्न निर्देश गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ