arrow

झापामा बढ्दै कोरोना संक्रमित : ३ सयबढी लुकीछिपी भित्रिए

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
jhapa.jpg

झापा । भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपाली मुख्य नाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिन थालेका छन् । नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा सुरक्षित किसिमले पु¥याउने काम भइरहेको कोरोना संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । उनका अनुसार झापाको केचना, टाघनडुब्बा र काँकडभिट्टा, गौरीगञ्जबाट नेपाली आउन शुरु गरिसकेका छन् । लुकीछिपी आउनुपर्ने बाध्यता सिर्जना हुनुभन्दा वैधानिकरुपमा नेपाल ल्याइन सुरक्षित हुनेहुँदा पहल गरिरहेको संयोजक पोर्तेलको भनाइ छ । 

पाँच दिनयता यी नाकाबाट ३०० भन्दा बढी नेपाली आइसकेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टाइन र होल्डिङ सेन्टरमा सुरक्षित साथ राखिएको छ । मङ्गलबार साँझसम्ममा मेचीनगरको काँकरभिट्टा आसपासबाट १३० जनाभन्दा बढी नेपाल प्रवेश गरेका छन् । झापासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल र विहारका दशगजासम्म एक हजारभन्दा बढी नेपाली सम्पर्कमा छन् । वैधानिक ढङ्गले नाकाबाट ल्याउने प्रबन्ध नभएपछि उनीहरु राति र बिहान दशगजा पार गरेर नेपाली भूमिमा आउन थालेका हुन् ।

कचनकवलका गाउँपालिका विभिन्न सीमावर्ती क्षेत्रबाट १५०को हाराहारीमा नेपाली भित्रिसकेका छन् । जसमध्ये केचनाबाट भित्रिएका १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । झापा गाउँपालिकाबाट मङ्गलबार ४७ र गौरीगञ्ज गाउँपालिकाबाट नौजना भित्रिएका छन् । सीमासम्म आइपुगेका नेपालीलाई वैधानिकरुपमा ल्याएर क्वारेन्टाइनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षणको सही व्यवस्थापन हुन सकेन भने कोरोना फैलिने उच्च सम्भावना रहेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताए । उनले भने, “लुकीछिपी आउँदा कहाँ बस्ने र कहाँ जाने टुङ्गो नहुने भएकाले जोखिम बढी हुन्छ ।” 

साथै भारतका सीमानाकामा रहेका नेपालीलाई ल्याएर राख्नका लागि झापामा ८५० श्ययाको होल्डिङ सेन्टर तयारी गरिएको छ । भद्रपुर नगरपालिकामा रहेको मेची बहुमुखी क्याम्पसमा ३००, बिर्तामोडस्थित कञ्चनजङ्घा हेल्थ इन्स्टिच्यूटमा २००, शिवसताक्षी नगरपालिकाको राष्ट्र रमणीय आदर्श माविमा १५० दमकमा रहेको मानसरोवर इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा १००/१०० गरी जम्मा ८५० बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । 

उनले भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका नेपालीलाई उद्धार गरेर होल्डिङ सेन्टरमा राख्न थालिएको बताए । अवैधानिक बाटोबाट आउँदा कोरोना संक्रमणको जोखिम हुने हुँदा भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई वैधानिक बाटोबाट ल्याउन सरकारसँग माग गरिरहेको बताए । उनले भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीलाई झापाका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइदिने र बाहिरका भए यिनै होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि सम्बन्धित प्रदेश वा जिल्लामा पठाइने व्यवस्था गरिने बताए । उनका अनुसार झापामा विभिन्न पालिकाका यसअघि नै २७ वटा क्वारेन्टाइन रहेका र थप गर्ने काम भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ