arrow

कोरोनालाई जितेर नै छाड्ने २३ वर्षीय युवकको विश्वास

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
covid-test-corona.jpg

दाङ । तुलसीपुर उपमहानगरपालिका—१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका—५का २३ वर्षीय युवक  कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् ।   गत शुक्रबार संक्रमित पुष्टि भएपछि उनले अहिलेसम्म रुघाखोकी, ज्वरोलगायत कुनै लक्षण आफूलाई नदेखिएको बताएका छन् । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेर कोरोनासँग जुधिरहेको उनमा दरिलो आत्मबल देखिएको छ । 

उनले कुरा गर्दै सोमबारसम्म आफूमा कुनै लक्षण नदेखिएको र छिट्टै सञ्चो भएर घर फर्कने विश्वास  व्यक्त गरे ।  उनी गत माघ महिनामा भारतको मुम्बईमा मजदूरीका लागि गएका थिए ।  त्यहाँ उनी रङ्रोगनको काम गर्थे । ‘भारतमा कोभिड —१९ को जोखिम बढ्न थालेपछि लकडाउन शुरु भयो र बन्दाबन्दी केही समयपछि कम्पनीले काममा नआउनू भन्यो’, उनले भने ।

भारतमा रहँदा एउटा ठूलो कोठालाई दुइटा बनाएर २१  मजदूरसँगै उनी बसेका थिए ।  उनले आफ्ना  कोठामा बस्ने सबैले घर फर्कने बताए पनि  आफू भने भारतका साथीसँग ट्रक चढेर आएको बताए ।  गत वैशाख २१ गते त्यहाँबाट हिँडेका उनी वैशाख २६ गते बेलुका  कपिलवस्तुको कृष्णनगर नाकासँगै रहेको भारतको बढनी आइपुगेका थिए । 

कपिलवस्तुमा  प्रवेश गरी त्यहाँबाट थप दुई घण्टा पैदल हिँडेर नजीकैकोे  क्वारेन्टाइनमा गएका उनले क्वारेन्टाइनमा बसे पनि खानाको सुविधा राम्रो नभएकाले नजीकै रहेको साथीको घरबाट खाना मगाएर खाने गरेको बताए । 

घरमा बुवालाई आफू क्वारेन्टाइनमा रहेको जानकारी गराएपछि उनले गढवा गाउँपालिकामा पुगेर अध्यक्ष सहजराम यादवसँग कुरा गरी गाउँपालिकाको सिफारिसमा एम्बुलेन्स पठाएपछि यहाँसम्म आएको बताए ।  उनलाई गाउँपालिकाले जनता मावि गढवाको क्वारेन्टाइनमा राखेको थियो । “हामीलाई ल्याउन कपिलवस्तुमा एम्बुलेन्स पठाइयो त्यहाँबाट सीधै यहाँ आएर बस्यौँ, सरकार रहेछ भन्ने महसुस भएको छ”, उनले भने । उनले थपे, ‘अहिले बसेको अस्पतालमा पनि बिरामीलाई राम्रो सुविधा छ । समय समयमा खानानास्ता दिने गरेको छ,  डाक्टर र स्वास्थ्यकर्मीले पटकपटक सोधपुछ गरिरहनुभएको छ ।”

अविवाहित उनले घरमा रहेका हजुरबा, हजुरआमा, आमाबुवा र सबै आफन्तलाई नआत्तिन र सुरक्षित रहेर बस्न आग्रह गरेका छन् ।  कक्षा ११ उत्तीर्ण संक्रमित उनीसँगै अस्पतालको आइसोलेशनमा गढवा —४ का ३६ वर्षीय पुरुष पनि छन् । उनी भारतको गोरखपुरस्थित एक होटलमा काम गर्न गएका थिए । कोरोनाको त्रास बढेपछि उनी नेपाल फर्कने तयारी गरे पनि लकडाउनका कारण आउन नसकेको  बताउँछन् । बन्दाबन्दी नखुलेपछि कोरोनाको त्रासले उनी  साइकल चढेर आएका हुन् । 

‘मजदूरी गर्न गएको थिएँ, त्यहाँ पनि कोरोना संक्रमित दिनहँु बढ्न थाले भन्ने थाहा पाएँ, साइकलबाट भारतको गोरखपुरदेखि बढनीसम्म एकदिनमा फर्केको हो, परीक्षण गर्दा कोरोना पोजेटिभको रिपोर्ट आयो, मलाई कहाँबाट कसरी सरेको हो भन्ने थाहै छैन’, उनले भने, ‘छिट्टै सञ्चो भएर घर फर्किन्छु भन्ने विश्वास छ । ’

भारतको बढनीबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै उनी एक हप्ताअघि फर्केका हुन् । कृष्णनगरको क्वारेन्टाइनमा  पाँच दिन बसेपछि उनलाई पनि गढवा गाउँपालिकाले एम्बुलेन्समा ल्याएको हो । दुवैको कोरोना परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन घोराहीमा शुक्रबार गरिएको र सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । 

गत शुक्रबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग   अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका —४ का ३४ वर्षीय युवक पनि अहिले आइसोलेशनमा छन् । उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । उन गत चैत २७ गते काठमाडौँ गएका हुन् ।  शान्तिनगर गाउँपालिका—५ निवासी बहिनीज्वाइँको उपचारका लागि उनी काठमाडौँ गएका हुन् । गत चैत २५ र २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम उपचारपछि उनलाई कोहलपुरबाट एम्बुलेन्समा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको बताइएको छ । 

कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा  अहिलेसम्म १६ कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । उक्त अस्पालमा दाङका दुई, कपिलवस्तुका छ र बाँकेका आठ जना रहेको अस्पतालका  मेडिकल सुपरिटेण्डेण्ट डा  सर्वेश शर्माले जानकारी दिए । बिरामी सबैको अवस्था सामान्य छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ