arrow

लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना परीक्षण

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

लालितपुर । काठमाडौँ उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन् । यो एक महिनाभित्र संक्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ ।
 
ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मङ्गलबार हरिसिद्धिमा परीक्षण गरेको थियो । कतिपयको पिसिआर त कतिपयको आरडिटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ । शनिबार २११ को र आइतबार १४८ जनाको पिसिआर विधिबाट परीक्षण भएको थियो । शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ ।
 
महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो । त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिए । मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिए । 

त्यस्तै गोदावरी नगरपालिकामा आइतबार ९६ जनाको स्वाब र १०९ जनाको आरडिटी परीक्षण गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले सोमबार गोदावरीमा ६४ को  पिसीआर परीक्षणका लागि स्वाब  संकलन गरिएको र १०९ को आरडिटी परीक्षण गरिएको जानकारी दिए । त्यस्तै  मङ्गलबार सात जनाको स्वाब संकलन र १३ जनाको आरडिटी परीक्षण गरिएको शाहले जानकारी दिए । उनले भने, “आरडिटी नेगेटिभ आइसकेको छ भने पिसीआरको रिपोर्ट आउन बाँकी नै छ ।”

महालक्ष्मी नगरपालिकाले आइतबार र सोमबार रेडजोनमा परेका जिल्लाबाट आएका, विदेशबाट आएर अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका व्यक्तिलगायतको परीक्षण भइरहेको जनाएको छ । आइतबार ६७ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको र १९१ जनाको परीक्षण गरिएको थियो । त्यस्तै सोमबार ९२ स्वाब संकलन र १७६ को आरडिटी परीक्षण गरिएको छ । आरडिटी परीक्षणको नतिजा नेगेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षणको नतिजा आउन बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिकाले पनि कोभिड–१९ को परीक्षण अघि बढाइरहेका छन् । शनिबार महाँकाल गाउँपालिकाले ६१ को स्वाब र १३८ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भने, “हाम्रो गाउँपालिकाभित्रका हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएको छ ।”

कोञ्ज्योसोम गाउँपालिकाले शुक्रबार नै ६० को स्वाब संकलन र १३६ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिए । उनले भने, “६२ जनाको नै स्वाब संकलन गरी टेकु पठाउँदा सबैको रिपोट नेगेटिभ आएको छ ।” वाग्मती गाउँपालिकाले आज कोरोना परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।
 
उपत्यकामा यो साता कोभिड–१९ संक्रमित भेटिन थालेसँगै यहाँका सबै पालिकाले परीक्षण गरिरहेका हुन् । ललितपुरमा पहिलोपटक मङ्गलबार एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति कुन पालिकाको हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । सबै पालिकाले कोभिड–१९ को परीक्षण अघि बढाइरहेकामा स्वास्थ्य मन्त्रालयले ती एकबाहेक अरु सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ