arrow

लकडाउन हटेलगत्तै बाहिरबाट आउनेको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

ठीक समयमा लकडाउन, कोरोना नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा

logo
नारायण न्यौपाने,
प्रकाशित २०७७ जेठ ७ बुधबार
pm3.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन् । 
    
एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो । ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले महामारी नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो । कोभिड १९ संक्रमणको स्थिति, आगामी दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रंोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए ।
    
कोरोना जोखिम नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताका आधारमा प्रयोग गरिने केन्द्रको भनाइ रहेको छ । हालसम्म अपनाइँदै आएको रणनीतिमा परिवर्तन गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य स्थिति बिग्रन नदिन खानपान, सरसफाइ, शौचालयलगायतको उचित व्यवस्थापन गर्न केन्द्रलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । 
    
बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण संक्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता संक्रमित व्यक्तिको पहिचान गर्न पनि उनले निर्देशन दिएका थिए ।    कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता आँैल्याइएको छ ।

संक्रमित व्यक्ति आवतजावत र सम्पर्क भएको क्षेत्रलाई प्राथमिकीकरण गरी परीक्षणको दायरा बढाइएको केन्द्रले जनाएको छ । योजनाबद्धरुपमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । 

रोजगारीलगायतका कारण विदेशमा रहेका र कोरोनाका कारण स्वदेश फिर्ता हुन चाहने व्यक्तिको पहिचान गर्न परराष्ट्र मन्त्रालयबाट तत् देशमा रहेको कूटनीतिक नियोगलाई निर्देशन भइसकेको छ । विदेशबाट फर्कने नागरिकलाई कसरी व्यवस्थापन गर्नेबारेमा केन्द्रले प्रारम्भिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले क्वारेन्टाइनको क्षमता र गुणस्तर एवं परीक्षणको दायरा बढाउन निर्देशन भएको जानकारी दिए । उनले भने, “पृतनाबाट कोरोना रोकथाम र उपचारका लागि प्रस्तुत गरिएको प्रारम्भिक योजनामाथि छलफल भएको छ । त्यसलाई परिमार्जन गरेर अघि बढ्ने भएको छ ।”  

प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत उक्त केन्द्रमा पुगेर कोभिड नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी लिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ