arrow

९ संक्रमित मध्ये ६ जना भारतबाट आएका, २ पत्रकार

logo
सनिउल्ला धोबी,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
covid-test-corona.jpg

कपिलवस्तु । कपिलवस्तुमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना संक्रमित थपिएका हुन् । ती मध्ये वाणगङ्गाका पाँच, मायादेवीका तीन र कपिलवस्तुका एक रहेका छन् । मायादेवीका तीन र वाणगङ्गाका तीन संक्रमित भारतबाट गत वैशाख २९ गते स्वदेश फर्किएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
 
उनका अनुसार वाणगङ्गा–७ का ५३ वर्षीय, वडा नं ५ का २७ वर्षीय, वडा नं १० का २५ वर्षीय, वडा नं ८ का २४ वर्षीय पुरुष रहेका छन् । संक्रमित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेको वाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । संक्रमितलाई आइसोलेसनमा राख्ने विषयमा नगरमा छलफल गरी व्यस्थापन गरिने उनले बताए । यस्तै वाणगङ्गा–४ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । बालिका आफ्नै घरमा रहेको सो गाउँपालिकाले जनाएको छ ।

मायादेवी– ४ का ४५ वर्षीय, वडा नं ५ का ३४ र ३६ वर्षीय दुई पुरुष रहेका छन् । तीन संक्रमितलाई जनता प्रावि गौरामा राखिएको छ । मायादेवीमा भोलिसम्म आइसोलेसन तयार गरी व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीले जानकारी दिए । कपिलवस्तु नगरपालिका–३ मा २९ वर्षीय पुरुषलाई संक्रमण देखिएको छ ।

दुई पत्रकार संक्रमित 
शुक्रबार  संक्रमण पुष्टि भएमध्ये दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । संक्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टिनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार वाणगङ्गा– ४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना संक्रमण भएको छ । यसभन्दा अगाडि सोही स्थानकी छ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो । त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा संक्रमण देखिएको हो ।

काठमाडौँमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालार्ई काठमाडौँ लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तुका सबै पालिकामा कोरोना संक्रमित देखिएका छन् । ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ