arrow

आमाको स्मृतीमा मिश्रले पत्रकारहरुको गरिदिए कोरोना बीमा

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
laxminarayan-mishra-ji.gif

तेह्रथुम। तेह्रथुमका २० जना क्रियाशील पत्रकारहरुको सामुहिक कोरोना बीमा गरिएको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका १३ जना पत्रकार र संमृद्ध तेह्रथुमकालागि अभियानद्धारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना पत्रकार र कर्मचारीको एक–एक लाख रुपैयाँको वार्षिक बीमा गरिएको हो ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको समन्वयमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति लक्ष्मीनारायण मिश्रले स्वर्गीय आमा लक्ष्मीदेवीको स्मृतिमा पत्रकारको कोरोना बीमा गरिदिएका हुन् ।

महासंघको सिफारिसमा मिश्रले १३ जना क्रियाशील पत्रकारको एक वर्षकालागि १–१ लाख रुपैयाँको बीमा गरिदिएका पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताए । बीमाका कारण अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए ।

जिल्लामा चार वटा रेडियोमा काम गर्ने रेडियोकर्मीले संकटका बेलासमेत ज्यान जोखिममा राखेर निरन्तर सूचना प्रवाह गरिरहेको भन्दै उनले ती सबै सञ्चारकर्मीको बीमा गरिदिनकालागि समेत आव्हान गरे ।  

बीमा गरिदिएपछि मिश्रले १३ जना पत्रकारको बीमालेख शुक्रबार पत्रकार महासंघका जिल्ला अध्यक्ष ढुंगानालाई हस्तान्तरण गरेका छन् । त्यस्तै, सात जना रेडियो कर्मचारीको बीमालेख रेडियोलाई हस्तान्तरण गरेका छन् ।

‘महामारीका बेला स्वास्थ्य, सुरक्षा, सञ्चार र निजामती सेवा क्षेत्र अग्रपंक्तिमा रहेर खटिएको छ, तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवासुविधाको व्यवस्था गरेको छ,’ बीमालेख हस्तान्तरणपछि सभापति मिश्रले भने, ‘त्यसैले अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बीमा गरिदिन प्रोत्साहित भएँ ।’

मिश्रकी आमा लक्ष्मीदेवीको गतवर्ष ९० वर्षको उमेरमा देहावसान भएको थियो । मिश्र जिल्लामा क्रियाशील सञ्चार गैरसरकारी संस्था संमृद्ध तेह्रथुमकालागि अभियानका निर्देशक समेत हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ