arrow

जनता समाजवादीको एकता भाँडिने अवस्थामा

उपेन्द्र यादव र राजेन्द्र महतोबीच आरोप प्रत्यारोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १० शनिबार
janata-samajwadi-party.jpg

काठमाडौं । नेताहरुको व्यवस्थापन र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद टुंगो लाग्न नसक्दा जनता समाजवादी पार्टीको एकता भाँडिने स्थितिमा पुगेको छ । 

एकीकृत पार्टीमा नेताहरुको मयार्दाक्रम मिलाउन र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद टुंगो लगाउन शनिबार तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका शिर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा दुवै पार्टीका नेताहरू आफ्नो आफनो अडानमा अडिग रहे ।

बैठक टुंगिने बेला तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने,‘तपाईंहरुले एकता नचाहेको जस्तो छ । यस्तो प्रस्तावले एकता हुँदैन ।’

त्यसको जवाफमा राजेन्द्र महतोले जवाफ दिए ‘एकता हामीले होइन, तपाईहरुले नचाहेको जस्तो छ । एकताकोलागि हामीले यतीसम्म त्याग गरेका छौ ।’

यसअघी शुक्रबार दुवै पार्टीको आफ्नो–आफनो बैठक बसेको थियो । राजपाको अध्यक्ष मण्डलको बैठक बस्यो । उक्त बैठकमा आफूले राखेको प्रस्तावमा अडिग रहने निर्णय गर्‍यो । यसैगरी तत्कालिन समाजवादी पार्टीका शिर्ष नेताहरूको बैठक बस्यो । सो बैठकमा आफनो अडानबाट पछि नहट्ने सहमति भयो । त्यसपछि बैठक बसेन ।

शनिबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादीका नेताहरू अलग अलग पार्टीको हैसियत जस्तो गरी बुढानिलकण्ठ पुगेका थिए । स्रोत भन्छ, देउवासँग कुरा गर्दा पनि अलग अलग पार्टी झै गरी कुरा गरेका थिए । संविधान संशोधनको एजेण्डामा छलफल गर्न उनीहरु बुढानिलकण्ठ पुगेका थिए । 

बिहीबारको बैठकमा तत्कालिन राजपाका नेताहरूले महन्थ ठाकुरको अध्यक्षतमा पार्टी दर्ता गर्ने, ठाकुरलाई कार्यकारी अध्यक्ष बनाउनु पर्ने र बाबुराम भट्टराइलाई राष्ट्रिय परिषद्को अध्यक्ष बनाउनु पर्ने प्रस्ताव राखेका थिए । उनीहरूको भनाइ थियो, नवगठित पार्टीमा दुइ जना मात्र अध्यक्ष रहने छन् । बाँकि नेताहरूलाई सचिबालय गठन गरी त्यसमा व्यवस्थापन गर्न सकिन्छ ।

तर तत्कालिन समाजवादी पार्टीका नेताहरूको अडान भने ठाकुरलाई पार्टी अध्यक्ष मान्न सकिदैन, संयोजक मात्र मान्न सकिन्छ भन्ने रह्यो । उनीहरुको भनाइ थियो, राष्ट्रिय परिषद्को अध्यक्ष बाबुराम भट्टराई, कार्यकारिणी समितिको अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरको भुमिका मानार्थ मात्र हुनुपर्छ ।’

समाजवादीको यस प्रस्तावलाई तत्कालिन राजपाका नेताहरूले ठाडै अस्विकार गरे । राजपाका नेताहरूको प्रस्ताव ७सय ५१सदस्यीय केन्द्रीय समिति, १सय ५१ सदस्यीय राजनीतिक समिति र ५५ सदस्यीय कार्यकारिणी समिति बनाऔ भन्ने थियो ।  ‘७सय ५१ सदस्यीय केन्द्रीय समिति मान्न उपेन्द्र यादवजी पनि तयार हुनुहुन्छ । तर यादवजीले  कार्यकारी अध्यक्ष पद आफैले खोज्नु भएको छ। यसकारण स्थिति झन जटिल बन्दै गएको छ’ तत्कालिन राजपाका एक पदाधिकारीले भने । 

बिहीबारको बैठकमा राजपाका नेताहरूले फुट्नै लागेको समाजवादी पार्टीलाई आफूहरुले जोगाउँदा पनि यसको गुन समाजवादीका नेताहरुले नेदेखेको गुनासो पोखेका थिए । 

कानुन अनुसार पार्टी एकीकरण गर्ने सहमतिलाई दुवै पार्टीको केन्द्रीय समितिको बैठकबाट अनमोदन गराउनु पर्छ । विवाद टुंगो लाग्न नसक्दा दुवै पार्टीहरुले त्यसको अनमोदन गराएका छैनन् । निर्वाचन आयोगमा निबेदन दर्ता गराएका ४५ दिनभित्र सबै कागजाताहरू आयोगम बुझाउनु पर्ने कानुनी व्यवस्था छ।

पार्टीको विधान,घोषणा पत्र, तथा संगठनात्मक संरचनामा  टुंगो नलागेकोले आयोगमा डकुमेण्ट बुझाउन नसकिएको तत्कालिन राजपाका अर्का एक नेताले बताए ।  

वैशाख १० गते मध्यरातमा तत्कलिन राजपा र समाजवादी पार्टीवीच पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसको भोलीपल्ट नव गठित पार्टीका नेताहरु निर्वाचन आयोग र संसद सचिबालय गइ पार्टी एकीकरण गरिएको जानकारी गराएका थिए । त्यसपछि नेताहरुको मयार्दाक्रम मिलाउन पार्टीका नेताहरुले लगातार बैठक गरिरहेका छन् । तर सबै बैठक विना निष्कर्ष टुंगिने गरेका छन्। 
यता, नव गठित समाजवादी पार्टीमा कम्युनिज्म आइडोलोजि (सिद्धान्त)लाई स्विकार गर्ने कि लोकतान्त्रिक आइडोलोजी स्विकार गर्ने भन्नेमा पनि पार्टीका शिर्ष नेताहरूवीच विवाद सुरु भएको छ । नव गठित पार्टीको विधान र घोषणापत्रको मस्यौदा बनाउन ४ सदस्यीय विधान मस्यौदा घोषणा पत्र बनाइएको छ । मस्यौदा समितिमा राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

यी मध्ये श्रेष्ठ पूर्व एमाले हुन भने सुवेदी पूर्व नयाँ शक्तिका नेता हुन् । स्रोतका अनुसार मस्यौदामा कम्युनिष्ट विचारबाट प्रभावित शब्दहरू राखिए पछि ठाकुर लगायतका नेताहरूले आपत्ति जनाएका हुन् । जनता समाजवादी पार्टी लोकतान्त्रिक विचार र आर्दशबाट प्रभावित हुनुपर्ने ठाकुर लगायतका नेताहरूको अडान छ । लोकतान्त्रिक आदर्शबाट निर्देशित भइ सोही अनुसार विधान र घोषणा पत्रमा लोकतान्त्रिक समाजवादीको शब्द राख्नु पर्ने उनीहरूको भनाइ रहेको स्रोतको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ