arrow

१४ मजदुरमा कारोना पुष्टि भएको बागलुङका पालिका २० गतेसम्म सिल

logo
रामबहादुर थापा,
प्रकाशित २०७७ जेठ ११ आइतबार
baglung_district.png

बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन आइतबारदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।

स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । “एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ”, उनले भने, “निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।” बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।

बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको संख्या बढ्दै गएपछि संक्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।

शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ । “भारतबाट आउनेको संख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ”, अध्यक्ष पाइजाले भने, “स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ ।”

भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ । जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको संख्या बढी छ । बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन् । भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरु गरेको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए ।

थपिँदै क्वारेन्टाइन
भारतबाट जिल्ला भित्रनेको संख्या बढ्न थालेपछि स्थानीय तहले क्वारेन्टाइन विस्तार गरिरहेका छन् । गलकोट नगरपालिकाले ११ वटै वडालाई कम्तीमा १० श्ययाको क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । सबै वडा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका छन् । वडा नं ३ ले १५ श्ययाको क्वारेन्टाइन बनाएको छ । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टाइन निर्माणमा सघाएको हो । 

क्याम्पसको कोठालाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ । “क्वारेन्टाइन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानिटाइजरसम्म श्ययामै उपलब्ध गराएका छौँ”, वडाध्यक्ष वीरजङ्ग भण्डारीले भने । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ । क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नेछन् ।

“तत्कालाई भारतबाट आउने नागरिकलाई लक्षित गरी क्वारेन्टाइन बनाएका छौँ, आवश्यकता पर्दा श्यया थपिनेछ”, वडाध्यक्ष भण्डारीले भने । संक्रमणको जोखिम हुन नदिन गलकोट क्षेत्रमा पनि विशेष सावधानी र सतर्कता अपनाइएको छ । गत वैशाख ११ गते गलकोटबाट पर्सा पुगेका १४ जना मजदुरमा कारोना संक्रमण पुष्टि भएपछि गलकोटमा एकाएक त्रास छाएको थियो ।

तत्कालै स्वास्थ्य कार्यालयले ‘कन्टयाक्ट ट्रेसिङ’ गरी गलकोटका १०९ जनाको कोरोना जाँच गरेको थियो । पिसीआर विधिबाट गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई त्रास घटेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ३५० भन्दा बढी श्यया रहेका क्वारेन्टाइन तयारी अवस्थामा छन् । यस्तै १६ श्ययाको आइसोलेसन बनाइएको छ । गत चैतमा संक्रमित जिल्लाका दुई जना निको भइ घर फर्किसकेका छन् । त्यसयता नयाँ संक्रमण देखिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ