हाइटेनसन तारमा छुदा महिला र घरमा काम गर्ने पुरुषको मृत्यु, छुटाउन खोज्दा एक घाइते
प्रकाशित २०७७ जेठ ११ आइतबार
627
Shares
काठमाडौं । म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आइतबार बिहान करेण्ट लागेर मृत्यु भएको छ । भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो ।
रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।
शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
त्यस्तै कैलालीमा करेन्ट लागेर युवकको ज्यान गएको छ । घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए । इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आइतबार बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ ।
चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।