arrow

बढ्यो कोरोनाको जोखिम : संक्रमितको सम्पर्कमा आएकाको परीक्षण गर्न किट छैन

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
corona-test-kit.jpg

कैलाली । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न  किटको अभाव  भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।   किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । 

“जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन”, उनले भने, “प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।” उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिए । 
 नगरपालिकामा हाल १६० जना क्वारेन्टाइनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टाइनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए ।  नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताए । उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए ।

त्यस्तै संक्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ । संक्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले दिनप्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताए । स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टाइनमा बसेकाको  समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए । जानकी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।

भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ । नगरपालिकामा किट नहुँदा क्वारेन्टाइनको समय पुगेकाहरुलाई होम क्वारेन्टाइनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताए । मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए । उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र रु एक हजार १०० पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए । नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेका छन् । भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ ।

जोसिपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ