arrow

पाँच जना मारिएको घटनाको शान्ति समाजद्वारा निन्दा, दोषीलाई कानूनी कारवाहीको माग

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
hurpes.jpg.jpeg

काठमाडौं । देशका विभिन्न भागमा भएका जातीय विभेद र हिंसाका घटनाको मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । 

जेठ १० गते रुकुमपश्चिमको चौरजहारीस्थित सोतीमा भएको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको महासचिव सुशील बस्नेतले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँच जना होनहार नागरिकको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको घटनाको निन्दा गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनसम्मत कारवाही गर्न शान्ति समाजले माग गरेको छ ।

बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो।  गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।
 
दण्डहीनताको निरन्तरता र कहालीलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटना वृद्धि भइरहेको समाजले जनाएको छ । रुकुमपश्चिममा भएको घटनाका दोषीमाथि कारवाही नहुने हो भने मानवता पराजित भइ अन्याय पुरस्कृत हुने समाजको ठहर छ । रुकुमपश्चिम घटनाका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न, दोषीलाई कानूनसम्मत कारवाही गर्न र पीडितलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसै विषयलाई लिएर समाज रुपन्देही शाखाले उच्च अदालत बुटवल बार एशोसिएसनलगायतका संस्थाको आयोजनामा बिहिबार बिहान बुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले कोणसभालाई सम्बोधन गरेका थिए ।

दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र काठमाडौँ शाखाको आयोजनामा जेठ १६ गते बिहान ८ बजे बौद्धमा विरोध कार्यक्रम गरिँँदैछ । यसैगरी समाजका सदस्य, दलित अगुवा र सामाजिक अभियानकर्मीको सहभागितामा जेठ १४ गते अपराह्न बुटवलमा विरोध प्रदर्शन भएको समाजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ