arrow

सोती नरसंहारका दोषीलाई किन जोगाउन खोज्दै छन् जर्नादन शर्मा ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
protest-dalit-murder-janard.gif

रुकुम। जेठ १० गते शनिवार बेलुका ५ बजेतिर भेरी नगरपालिका –४ राणागाउँ जाजरकोटका–२१ बर्षिय नवराज बिक १९ जना साथीहरुसँगै बेहुँली ल्याउन चौरजहारी नगरपालिका –८ सोतीगाउँ पुगेका थिए । केटीको घरमा नपुग्दै नवराज विकलगायत साथीहरुलाई सोतिगाउँका महिला सहित आएका गाँउलेहरुले एक्कासी आक्रमण गर्दा भागदौड मच्चियो । केही ज्यान जोगाउन भन्दै भेरीमा हाम फाले कोही भागे, कोहीलाई लखेटी लखेटी कुटपिट गरे’ नबराजसँगै गएका भेरी नगरपालिका–४, खलंगाका सुदीप खड्का भने ‘पुरै गाँउ उर्लेर आएका बताउँछन् ।’ 

ठकुरीकी छोरी लिन खोज्ने ‘साले डुमहरु’ भन्दै नवराजसँगै अन्य साथीहरुलाई निकै कुटपिट गरे । मलाई पनि कुटे । मरे मरुला भनेर भेरीमा हाम फाले । पौडी खेलेर नदी तरे नदीको पारीपट्टी सम्म गाउँका नै आएर पनि कुटपिट गरे । ज्यूभरी चोटै चोट थियो । त्यसपछि प्रहरी आएर लग्यो दुई दिन चौरजहारी मिसन अस्पताल उपचार गराएर सोमवार घर आएका उनले भने ‘आफ्नै ज्यान कसरी जोगाउने भन्ने भयो अरु साथीहरुको अवस्था के भो थाहै भएन ।’

भेरी नगरपालिका–४ का सरोज भडेल पनि भागेर ज्यान जोगाएको बताउँछन् । गाँउ पुग्ने वित्तिकै गाँउका सबै खनिएर आए । महिला केटाकेटी सवै थिए । उनीहरुका हातमा चिर्पट र हसिया पनि थिए । साथीहरु भागे । कसैले पनि प्रतिकार गरेनन् उनले भने ‘कोही नदीमा हाम फाले । कोहीलाई समातेर कुटपिट गदै थिए । मैले नी भागेर ज्यान जोगाए । घटनाको केही समय पछि १२ जनालाई प्रहरी आएर इलाका प्रहरी कार्यालय चौरजहारी रुकुम (पश्चिम) लिएर गयो ।’ अन्य ६ जनालाई कुटपिट गरेर भेरीमा फालिदिएको उनको आशंका छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्ये ५ जनाको शब भेरी नदिको किनारमा फेला परेको छ । 

भेरी नगरपालिका–४ का (दुलाहा) नवराज विक, उनका साथी टीकारम विक र गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विकको शब भेरी नदिको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। अझैपनि भेरी नगरपालिका वडा नम्वर–११ गोविन्द शाही अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको प्रहरी प्रमुख श्रेष्ठले बताउँछन् । 

प्रेमिकाले बोलाईन् नबराजलाई 
एकसाता अघि देखी जेठ १० गते नबराज र उनको प्रेमिकाको भागेर विहे गर्ने सहमति भएको नवराजका साथी सुदिप खड्काले बताएका छन् । उनले भने,‘नबराजको दुलही ल्याएर साथीहरुलाई भोज खुवाउने योजना थियो ।’ उनकै सल्लाहमा १९ जना युवाहरु रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँ पुगेको खड्काले बताए । तर पुग्नु पहिले नै बीचबाटोमा उनीहरुमा आक्रमण भएको थियो । नबराजको भनाई उदृत गदै खड्काले भने,‘उनको प्रेमिकाको बिहे अन्तै हुने कुरा चलेपछि नबराजलाई बोलाएकी थिईन् उनको प्रमिकाले ।’

पीडित पक्षले युवतीको परिवारलाई कसैले खबर पुर्‍याएको हुनसक्ने अनुमान गरेका छन् । घाइते आशीष विकले आफूमाथि पुग्ने बित्तिकै आक्रमण भएको हुनाले उनीहरूले पहिल्यैदेखि बाटो ढुकेर बसेको हुनसक्ने बताए । सोतीगाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेका थिए । केही घाईते र सँगै गएकाहरुले पुरै गाँउ नै खनिएर घेरा हालेको बताएका थिए । कुट्नु हुन्न भन्ने कसै थिएनन्, भेटेकी सबैले कुट्थे । 

तीन वर्ष अघिकै प्रेम 
चौरजहारी नगरपालिका–८ सोतिकी युवती र भेरी नगरपालिका–४ का नवराज विक बीच तीन वर्ष पहिले नै चिनजान भएको थियो । उनीहरु एकले अर्कालाई असाध्यै मन पराउथे । छोराले सधै उनैलाई फोन गर्दथ्यो । उनको पनि फोन आइरन्थ्यो ।  छोरा खेलाडी थियो । खेल खेल्न उ चौरजहारी जाने गर्दथ्यो । उसलाई भलिबल र  फुटबल खेल राम्रो खेल्थ्यो ।  चौरजहारी आउने–जाने क्रममा किशोरीसँग उनको हिमचिम बढिसकेको रहेछ ।  गत पुस २९ गते साँझ नयाँ युवती घरमा आईन् । मैले छोरीको साथी सम्झे ति युवती ३ दिन घरमा बसिन । बिहे नगरेकी किशोरी पटक–पटक आउजाउ गर्न र बासै बस्न थालेपछि नवराजकी आमा उर्मिला थप शसंकीत भइन् । उनले छोरालाई हप्काएको बताईन् । नानीलाई पनि हाम्रो घरमा नआउन भने । तर ति नानी आउन छोडिनन् । बुझ्दै जाँदा ठुलो जातकी रहेछिन् । झन मेरो सातो गयो नवराजको आमा उर्मिलाले भनिन, “आफूभन्दा माथिल्लो जातको केटी भन्ने थाहा पाएपछि मलाई असाध्यै डर लाग्यो ।”

गाउँलेले के भन्लान् ठानेँ र छोरालाई एकान्तमा बोलाएर उसकै घर पुर्‍याउन भने । माथिल्लो जातको केटी ल्याएको थाहा पाएपछि छोरालाई दुई हातै जोडेर बिन्ती गरेको उर्मिला बताउँछिन् । उनी दुबै जना मायामा अन्धो भइसकेको रहेछन् नबराजकी आमाले जानकारी दिईन् । गत वैशाखको अन्त्यतिर किशोरी फेरि उर्मिलाको घरमा आएकी थिइन् । त्यसदिन नवराजको जन्मदिन थियो । किशोरीले भाइ पनि साथै लिएर आएकाले उनले केही पनि भनिनन् । भाइ बसे । किशोरीलाई चाहिँ नवराजले मोटरसाइकलमा राखेर घरै पुर्‍याइदिएको उर्मिला बताउँछिन् ।

नवराजसँगको प्रेम सम्बन्धबारे परिवार पनि जानकार रहेछन् । योबीच एक–दुईपटक किशोरीका परिवारले नवराजलाई धम्क्याएका पनि थिए । त्यसपछि केही समय युवती आउने क्रम रोकियो । उनीहरु फोनमै कुरा गर्दारहेछन् । फोनबाट बोलाएपछि छोरा जेठ १० गते साथीहरु लिएर चौरजहारी गएको उनको भनाई छ । केही समय अघि मात्र प्रेमिकाको घरमा पुगेका नवराजलाई नियन्त्रणमा लिएर कुटपिट गरि ईलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए । त्यहाँ नवराजका आमाबुवालाई बेलाएर आइन्दा यो सम्बन्ध नबढाउने भन्दै लिखित कागज समेत गराईएको थियो । नवराज सहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि ढुङ्गा मुढा प्रहार गदै लखेटेर भेरीमा फालिदिएकोे प्रत्यक्षदर्शीको भनाइ छ । 
 
वडाध्यक्ष सहित  १८ पक्राउ  
चौरजहारी घटनामा पीडित परिवारले २० जनाको नाममा किटानी जाहेरी दर्ता गरेका छन् । चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सहित नबराज डम्बर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, बीरबहादुर मल्ल (बुवा), प्रकाशी मल्ल (आमा) सुस्मा मल्ललगायतको नाममा मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । किटानी जाहेरी भएसँगै मृतकको सवको पोस्टमार्टम गरी दासस्कार गरिएको छ । 

यता घटना पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरवहादुर मल्ल, केटीका (बुवा) वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ल, नवराजकी प्रेमीका सहित १८ जनालाई नियन्त्रणमा लिएको र  २ जना फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरक्षक कविराज रोकायले भने, ‘घटना प्रकृति हेर्दा निकै डरलाग्दो छ, यसको सुस्म ढंगले अध्ययन गरिरहेका छौ।’

किन जोगाउँन खोज्दैछन् जनार्दन ?
रुकुम (पश्चिम) बाट निर्वार्चित सांसद जनार्दन शर्माले गत मंगलबार संसदमा भन्नुसम्म भने, ‘नवराजसहित १८ जना युवा वडाध्यक्ष वीरबहादुर मल्लको घर आएको देखेपछि लकडाउनमा आए भनेर वडाध्यक्षद्वारा प्रहरीलाई फोन गरियो र प्रहरी आयो । युवाहरू भाग्दै गर्दा ११ जनाले नदीमा हाम फाले, ५ जना उत्रेर बाँच्न सफल भए । ६ जनामध्ये ३ जनाको शव भेटियो । अरू ३ जना बेपत्ता छन् । घटना भएको यही हो ।’ उनले अगाडि थपे, ‘त्यहाँ कुनै राजनीति दबाब हुनै सक्दैन, स्थानीय सरकार, जाजरकोट र रुकुमको प्रहरीले राम्रोसँग अनुसन्धान गरिरहेको छ ।’

यत्ति बोल्नासाथ उनको भनाइप्रति संसदमा विरोध भयो, होहल्ला भयो । जनार्दनको अभिव्यक्तिको विरोध गरिरहेका सांसदतिर हेर्दै आफूले बोल्न नपाउने ? त्यहाँको निर्वार्चित सांसदलाई घटनाबारे भन्न नदिने ? कुन कानुनले बोल्न दिँदैन भन्दै खुबैसँग कड्कीए । उनीहरूको भन्दा चर्को स्वरमा बोलेर संसद्मा आफूले मजाले बोल्न पाउने हक खोजिरहनुभएका उनले यो विर्सिए  कि उनकै निर्वाचन क्षेत्रमा केही मान्छेले बाँच्न पाएनन्, प्राणको भीख माग्दामाग्दै भेरीमा हालिए ।

पूर्वगृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले रुकुममा भएको घटना मंगलबार संसदमा राख्ने क्रममा अन्य केही सांसदले विरोध गरेको घटना केवल संयोग मात्रै छैन । जनार्दनले घटनाको व्याख्या गर्ने क्रममा घटनालाई भवितव्यतर्फ मोड्न खोजेको भन्दै विरोध भएको थियो ।

वडाध्यक्ष, मेयर, प्रदेश सांसद र संघीय सांसद एउटै पार्टी लाइनका छन् । यो देशको सरकार पनि त्यही पार्टीको छ । स्थानीय प्रशासन, प्रहरी, सरकारले बनाएका समितिले काम गर्दै छन्, अनुसन्धान हुँदै छ, वास्तविकता आउनेछ, दोषी जो–कोही उम्कन पाउनुहुन्न भनेर घटना अनुसन्धानमा सघाउनुको साटो यी चारै तह दावाका साथ एउटै निष्कर्षमा पुगेझै भनिरहेका छन्, ‘लकडाउनको बेला आएको, गाउँलेले सोधपुछ गर्न खोज्दा भागाभाग भएर भेरीमा हाम फालेको ।’ उनीहरूको यही अभिव्यक्तिपछि केन्द्र र तल्लो तहका कार्यकर्ता पनि घटनामा सामान्य कुटपिट भएको तर ६ जनाले जानीजानी ठूली भेरीमा हामफालेको भनेर व्याख्या गर्न थालेका छन् ।

घटनालाई अर्कै रूप दिन केन्द्रमा जनार्दन शर्मा, प्रदेशस्तरमा सांसद गोपाल शर्मा, नगरपालिकामा विशाल शर्मा र गाउँमा वडाध्यक्ष लागेको भन्दै आलोचना बढेको छ । जनार्दनले घटना सत्यतथ्य आउनुपर्ने र आफूले हरेक सहयोग गर्ने बताएकै छन्, दोषीलाई कारबाहीको माग राखेकै छन् । तैपनि, यिनीहरूलाई किन यसरी घटनालाई परिवर्तन चाहेको आरोप खेप्नुपरेको होला ? घटनाको वास्तविकता खुल्ने नै छ तर माथि उल्लेख्य तीनै तहका सरकार रहेका व्यक्तिमा नजिकको पारिवारिक सम्बन्ध छ । आपराधिक घटना सावित भइसकेपछि यथार्थ त आउला नै तर बाहिर–बाहिर उनीहरूको नाता सम्बन्धलाई कोट्याएर घटना मोड्न खोजेको गम्भीर आरोप लाग्ने गरेको छ ।

मल्ल परिवारसँग जनार्दनको नाता 
समाचार स्रोतका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिसँग शर्माको गहिरो पारिवारिक सम्बन्ध यस्तो छ । अनिल शर्मा नेकपाको बागमती प्रदेश सदस्य र प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ का पार्टी इञ्चार्ज हुन् । अनिल जनार्दन शर्माका सहोदर कान्छा भाइ हुन् र अनिलको ससुराली गाउँ हो घटना घटेको सोतीगाउँ । घटनामा संलग्न आरोपमा पक्राउ परेका सन्तोष मल्ल अनिल शर्माका साला हुन् । सन्तोषकी माइली दिदी वसन्ता मल्ल अनिलकी श्रीमती हुन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल वसन्ताका काका हुन् । घटनामा संलग्न भनेर मृतकका परिवारले किटानी जाहेरी दिएका र प्रहरीले पक्राउ गरेका धेरैजसो मल्ल थरका छन् । उनीहरू सबै पारिवारिक नाताका हुन् ।

घटनाको नेतृत्व गरेका भनिएका चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्मरबहादुर मल्ल र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा काका–भतिज हुन् । विशालकी श्रीमती र मल्लकी आमा घरकै दुई बहिनी हुन् । यस्तै, प्रदेश सांसद गोपाल शर्मा (अनल) विशालका सहोदर कान्छा भाइ हुन् । घटनामा संलग्न वडा नम्बर ८ का अन्य धेरै मल्ल थरका व्यक्ति जनार्दनका नातेदार हुन् । काका–भतिज, भाइसालो, दाइजेठानकै साइनोमा गाँसिएका छन् उनीहरू । एउटै घटनामा यसरी ठूलो परिवार संख्या मुछिनु सायद परिवारजनका लागि समेत अकल्पनीय छ ।

आपराधिक क्रियाकलापमा संलग्न हुँदै प्रहरीको फरार सूचीमा रहेका र उक्त घटनाको कारण पक्राउ परेका डिल्ली मल्ल पनि अनिल र विशालका नातेदार हुन् । सल्यानमा केही वर्षअगाडि बसमा लुटपाट र हत्यामा सल्यान जिल्ला अदालतले दोषी ठहर गरे पनि डिल्ली नेताहरूकै संरक्षणमा खुलेआम हिँड्ने गर्थे । यस्ता धेरै पक्राउ परेका पात्रहरू संघीय सांसद जनार्दन र प्रदेश सांसद गोपाल दुवैका आफ्नै भाइका आफन्त भएपछि घटना तोडमोड गर्नुपर्ने बाध्यताजस्तै बनेको छ ।

साथै, घटनालाई अर्कै रूप दिन हतारमा प्रदेश सांसद गोपाल शर्माले नेकपा रुकुमको तर्फबाट सहयोगको नाममा छुट्टै छानबिन समिति गठन गरेको विज्ञप्तिसमेत निकाले । उनी नेकपा पश्चिम रुकुमको अध्यक्षसमेत हुन् । उनले गठन गरेको उक्त समितिको उनकै पार्टीका एक सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रिय सभामा आलोचना गरेका थिए । घटनाको सन्दर्भमा अहिले फरक–फरक व्याख्यासमेत हुने गरेको छ । उक्त घटनामा कमजोर पक्षलाई फसाउने र आफ्नालाई जोगाउने खेल शुरु भयो भनेर रुकुमका केही जनप्रतिनिधिको व्यापक आलोचना भइरहेको छ ।

कतिपय पत्रकारलाई समेत समाचारको विषयमा जनार्दन शर्माले थर्काएको भन्ने अपुष्ट आरोपसमेत छ । कोहलपुरका पत्रकार टेकेन्द्र बस्यालले पत्रकारलाई जनार्दनले थर्काएर घटना अन्तै मोड्न भूमिका खेल्न थालेको जनाएका छन् ।

यस घटनाबारे नेकपा निकट दलित अधिकारकर्मी र दलित नेताहरू खासै चासो राखेको देखिँदैन। पार्टी निकट जिल्लाका दलित अधिकारकर्मीसमेत चुपचाप छन् । जनार्दन शर्माले भने देखावटी रुपमै भएपनि सामाजिक सञ्जाल र संसद्मा समेत घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर त्यो खोक्रो प्रतिवद्धता मात्र हो भन्ने घटनाक्रमले देखाउँदै गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ