arrow

नेपाल दलित विद्यार्थी संघको चेतावनी : रुकुमपश्चिम घट्नालाई तोडमोड गरिए ठीक हुँदैन्

'गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ'

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
dalit-student.jpg

काठमाडौं। नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो । उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ । र, राजनीतिकरण नगर्नपनि संघले चेतावनी दिएको छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्व अध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए । आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे । उनले भने,‘यो घट्ना दलित समूदायमाथि मात्रै भएको घट्ना होईन । जनार्दन शर्माको निर्देशनमा यो घट्ना भएको हो । संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने किसिमको उहाँको भनाई थियो ।’ नवराज बिकलगायत युवाहरुलाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाईएको उनको आरोप छ । 

उनले जतिसक्दो चाँडो यो घट्नाको सत्य, तथ्य बाहिर ल्याउनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्नेपनि माग गरे । उनले भने,‘उच्चस्तरीय संसदीय छानबिन समितिले मात्रै निश्पक्ष छानबिन गर्छ । निश्पक्ष छानबिन हुनु भनेको पीडितले न्याय पाउनु हो । र, दोषीहरु उम्किन नपाउनु हो । नवराज बिकहरुले न्याय पाउने हो ।’ घट्नाको बारेमा सत्य, तथ्य बाहिर आउने भएकोले वर्तमान सरकारले अहिले उच्चस्तरीय संसदीय समिति बनाउन नचाहेको उनको अर्को गम्भिर आरोप छ । 

उनले अघि भने,‘हिजो पूर्व गृहमन्त्री जनार्दन शर्माले मन परेको व्यक्ति र उहाँले संरक्षण दिएको व्यक्तिलाई अहिले संयोजक बनाएर यो घट्नाको बारेमा छानबिन समिति बनाईएको छ । उहाँहरु दोषीहरुलाई उम्काउन खोज्दैहुनुहुन्छ । घट्ना तोडमोड गर्न खोज्दै हुनुुहुन्छ । दलितहरुको रगतमाथि होली खेल्ने अधिकार जनार्दन शर्मालाई छैन् । उहाँको पार्टीलाई पनि छैन् ।’

उनले उक्त घट्नालाई नरसंहारको संज्ञा दिए । उनले नवराजलगायत अरु मृत्तकका परिवारले न्याय नपाउँदासम्म आन्दोलन र संघर्ष सशक्त बनाउनेपनि प्रतिबद्धता जनाए । उनले भने,‘यो घट्ना तोडमोड गर्नुहुँदैन् । राजनीतिक रंग दिनुहुँदैन् । कसैको दबाबमा त्यसो गर्न खोजिए ठीक हुँदैन् । यदि न्याय नपाए हामी अन्तर्राष्ट्रिय अदालतमा पनि न्यायको लागि जान्छौं ।’ उनले आफूहरुको उक्त आन्दोलनमा मिडियाले धेरै साथ दिएको र नेपाल विद्यार्थी संघले पनि आन्दोलनलाई पूर्ण साथ र सहयोग गरेको भन्दै धन्यवाद दिए । 

कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे । उनले भने,‘रुकुमपश्चिममा जुन नरसंहार भएको छ । यसले स्तब्ध बनाएको छ । यो मानवताविरोधी अत्यन्तै पाश्विक घट्ना भयो। अन्तरजातीय प्रेमसम्बन्धलाई विषय बनाएर युवाहरुको क्रुर हत्या गरियो, यो निन्दनीय छ । मानवता पक्षधर, लोकतन्त्रको पक्षधर हामी यो घट्नाको विरोधमा छौं ।’

उनले वर्तमान सरकार र सत्तारुढ दल नेकपाले घट्नालाई राजनीतिकरण गर्न खोजेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हाम्रो संगठन नेविसंघ र हामी यो घट्नाको निन्दा गर्दछौं । यस्तो किसिमको घट्ना नदोहोरिन दिनको लागि हामी प्रतिबद्ध छौं । दलित विद्यार्थी संघसँगै छौं । सहयात्रा र हातेमालो गरेर अघि बढ्नुपर्छ । यो विषय दुःखद् छ । यो घट्नाका सम्बन्धमा सरकारमा बसेकाहरुले सही ढंगले विश्लेषण गरेका छैनन् । नेविसंघले घट्ना बाहिर आएको भोलिपल्टै आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले घट्नाको वास्तविकतालाई लुकाउन खोजेको छ । यो अपराधिक घट्ना हो । तोडमोड गर्न खोजिएको छ । सत्य, तथ्य छानबिनको लागि सरकारले गम्भिर पहलकदमी र थालनी अघि बढाएको छैन भनने हाम्रो ठहर हो ।’

नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे । उनले भने,‘गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । मुलुकमा  यति धेरै जघन्य अपराधका घट्ना घटिरहेका छन् । बलात्कार, हत्याका घट्ना हुँदा अहिलेसम्म दोषीलाई कारबाही गर्न सक्नुभएन । पदमा बस्न लाज लाग्दैन् । निर्मला पन्तको बलात्कारपछि हत्या घट्नादेखि आज नवराज बिकको हत्याकाण्डसम्म आउँदा गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्छ ।’

नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाई छ । मुलुकको गृहमन्त्री भैसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घट्ना घट्नु  र आजसम्म न्याय नपाउनु भनेको लज्जाको विषय भएको उनले प्रश्न उठाए । उनले भने,‘दुई दुई जना व्यक्ति गृहमन्त्री भैसकेको ठाउँमा जुन घट्ना घट्यो, यदि उहाँहरु न्यायप्रेमी हुनुहुन्थ्यो भने न्यायको लागि आज यत्रो दिनसम्म संघर्ष र आन्दोलन गर्नुपर्दैनथियो होला नि, हिजो तपाईहरु नवराज बिकहरुजस्तैले बनाएका बन्दुकको बलमा सत्तामा पुग्नुभयो । बन्दुक उठाउनु नपरोस ।’

उनले कुनैपनि आधारमा घट्नालाई तोडमोड गरिन नहुने धारणा राखे । यदि पीडितलाई न्याय नदिईए र घट्नालाई पूर्ण रुपमा उपेक्षा गरिए मुलुक भोलि जातीय द्धन्द्धमा जाने परिवेश नआउला भन्न नसकिनेपनि टिप्पणी गरे । उनले भने,‘गणतन्त्र नेपालमा यस्तो घट्ना घट्नु निन्दनीय छ ।’ उनले नेपालको एकीकरण होस वा त्यसपश्चात् दलित समूदयाको ठूलो भूमिका रहेको पनि सुनाए  उनले भने,‘दलित समूदाय सिर्जनशील समूदाय हो ।’
नेपाल दलित विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष डम्बर सुनारले रुकुमपश्चिमको घट्ना कुनैपनि कोणबाट क्षम्य नभएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय गरिनुपर्ने माग गरे । उनले दोषीहरुलाई आजिवन कैद सजाय दिनुपर्नेपनि माग गरे । 

सुनारले भने,‘हामीले विभिन्न मिडियाबाटपनि बुझेका छौं । खासगरी यो घट्नालाई राजीतिकरण गर्न खोजिएको छ । त्योभन्दापनि अझै यो घट्नालाई बंग्याउन खोजिएको छ । यो घट्नाका दोषीलाई दोषी करार गर्ने कुरा त परै जाओस, त्यसमा संलग्न भएका तथाकथित उच्च जात भनाउँदाहरु यो घट्नामा उनीहरुको संलग्नता नै छैन भन्नेजस्तो देखाउन खोजेका छन् । त्यहाँ राजनीतिकरण गर्न खोजिएको छ ।’ उनले स्थानीय जनप्रतिनिधि, पूर्व गृहमन्त्रीद्धय जनार्दन शर्मा र शक्ति बस्नेतलगायतले घट्नालाई बंग्याउने चलखेल गरिरहेको पनि गम्भिर आरोप लगाए । कार्यक्रम सञ्चालन नेपाल दलित विद्यार्थी संघका उपाध्यक्ष एवम्र प्रवक्ता मंगल नेपालीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ